काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त भएका छन् ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको स्रोतले बतायो ।
सञ्चालक द्वय भक्तबहादुर पुन र कपिल आचार्य पदमुक्त भएसँगै गुरुङ र कार्की नियुक्त भएका हुन् । मन्त्रालयले पुन र आचार्यलाई स्पष्टीकरण सोध्दै पदमुक्त गरेको हो ।
प्राधिकरण र उद्योगीबीचको विवादमा बक्यौता नउठाई ६ उद्योगको लाइन पुनः जोड्न नहुने भन्दै पुन र आचार्यले सञ्चालक समिति बैठकमा नोट अफ डिसेन्ट लेखेका थिए ।
सोसँगै स्पष्टीकरण सोधेको मन्त्रालयले चित्त नबुझेको भन्दै पदमुक्त गरेको थियो । उनीहरू पदमुक्त हुनासाथ नयाँ सञ्चालक नियुक्ति गरिएको हो ।