गुल्मी । गुल्मी जिल्लाको किरण पुस्तकालयले स्थापना गरेको‘जानकी साहित्य पुरस्कार २०८१’साहित्यकार ठाकुरप्रसाद शर्मा भण्डारीलाई प्रदान गरिएको छ ।
‘जानकी प्रतिष्ठान’द्वारा किरण पुस्तकायमा स्थापना गरिएको सो पुरस्कार मोती जयन्तीको अवसर पारेर किरण पुस्तकालय तम्घास गुल्मीले यस वर्ष साहित्यकार भण्डारीलाई प्रदान गरेको हो ।
२०७३ सालदेखि प्रत्यक वर्ष मोति जयन्तीको अवसर पारेर वितरण गरिने सो पुरस्कार २०७५ सालमा सूर्यबहादुर सेन वली,२०७६ सालमा भागिरथी श्रेष्ठ,२०७७ सालमा रामप्रसाद पन्त, २०७८ सालमा नारद गौतम,२०७९ सालमा रुद्र ज्ञवाली र २०८० सालमा हरिप्रसाद भण्डारीलाई वितरण गरिएको जानकारी पुस्तकालय संचालक समितिका अध्यक्ष शशी पन्थीले दिनुभयो ।
निरन्तर रुपमा साहित्यिक क्षेत्रमा कलम चलाउने स्रष्टाहरु मध्यबाट छनौट गरि पुरस्कृत एवं सम्मान गर्ने परम्परा अनुसार यस वर्ष भण्डारीलाइ सो पुरस्कार प्रदान गरिएको किरण पुस्तकालयका संचालक समितिका सदस्य तथा जानकी साहित्य पुरस्कार कोषका संस्थापक शंकरप्रसाद गौतमले बताउनुभयो ।
‘जानकी साहित्य पुरस्कार’लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालले नगद र सम्मान पत्रसहित साहित्यकार भण्डारीलाई प्रदान गर्नुभएको हो । पुरस्कृत हुनुभएका सत्यवती गाउँपालिका वडा नम्बर–५, जोहाङ्गका साहित्यकार भण्डारीका समालोचना, निबन्ध लगायतका विभिन्न किसिमका २७ थान पुस्तक प्रकाशन भएका छन् ।
यसअघि उहाँले विभिन्न समयमा समालोचना विविध विधाका पुरस्कार तथा सम्मान प्राप्त गरिसक्नु भएको छ । वि.सं.२०३३ सालमा रुरुक्षेत्र गाउँपालिका –४ बलेटक्सारमा जन्मनुभएकी जानकी ज्ञवाली साहित्य र मानवअधिकारको क्षेत्रमा काम गर्दागर्दै ३९ वर्षको उमेरमा असामयिक निधन भएको थियो ।
ज्ञवालीको निधनपछि उहाँका श्रीमान् शङ्करप्रसाद गौतमको अग्रसरतामा जानकी स्मृतिमा किरण पुस्तकालय तम्घासमा २०७३ सालमा एक लाख ५१ हजार १५१ रुपियाँको अक्षकोषमा रकम थप गरी दुई लाख रुपियाँ पुराइएको छ।
अक्षयकोषको ब्याजबाट हरेक वर्ष ज्ञवालीको जन्मदिनको अवसर पारेर गुल्मी जिल्लामा जन्मेर साहित्य सिर्जना गर्ने वा गुल्मीलाई केन्द्रमा राखेर साहित्य सिर्जना गर्ने साहित्यकारहरुलाई प्रत्येक वर्ष किरण पुस्तकालयबाट पुरस्कार घोषणा गर्ने र मोतीराम भट्टको जन्मजयन्तीको अवसरमा किरण पुस्तकालयमार्फत पुरस्कार प्रदान गरिन्छ ।