काठमाडौं । डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने उद्योगको लाइन नेपाल विद्युत् प्राधिकरणले काटेको छ । बिहीवार बेलुकी ८ बजेदेखि उद्योगहरूको लाइन काट्न थालेको हो ।
प्राधिकरणले गएको असोज अन्तिममा ४९ वटा उद्योगको सूची सार्वजनिक गर्दै बिहीबार भित्र डेडिकेटेड तथा ट्रंकलाइनवापतको बक्यौता बुझाउने म्याद दिएको थियो । उद्योगीले बक्यौता नबुझाएपछि लाइन काट्न थालिएको प्राधिकारण स्रोतले जनायो ।
घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, सोनापुर सिमेन्ट, कसमस सिमेन्ट, घराना फुड्स, एसआर फुड्स, श्याम प्लास्टिक, गोयन्का फुड्स, भलवारी चामल उद्योग र बाबा जुट मिललगायतको लाइन काटिएको एक व्यापारीले जानकारी दिए ।
बिहीबार बिहान प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री दीपक खड्काले लाइन काट्न नहुने बताएका थिए । र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अहिले उद्योगीलाई चिढ्याउन नहुने धारणा राखेका थिए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार साँझ उर्जामन्त्री खड्कालाई भेटेर लाइन नकाट्ने हो भने मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने बताएका थिए । मन्त्रिपरिषद् बैठकमा कुनै निर्णय नभएका कारण उनले लाइन काट्न शुरु गरेका हुन् ।
पछिल्लोपटक गत २४ असोजमा सूचना निकालेर प्राधिकरणले बक्यौता महसुल भुक्तानी गर्न भन्दै बिहीबार सम्मको म्याद दिएको थियो । तर, उद्योगी भने प्राधिकरणले विद्युत प्रयोगको प्रमाण नदिएको भन्दै बक्यौता नतिर्ने अडानमा छन् ।