काठमाडौं । सरकारले सुनचाँदीमा लाग्ने भन्सार महसुल घटाएसँगै सुनको मूल्य आज एकैदिन १५ हजार नौ सय रुपैयाँले घटेको छ ।
हिजो एक लाख ६७ हजार दुई सय रुपैयाँ रहेको सुनको मूल्य आज एकैदिन १५ हजार नौ सय रुपैयाँले घटेर एक लाख ५१ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचााँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि कात्तिक १५ गते एक लाख ७१ हजार रुपैयाँ सम्म पुगेको सुनको मूल्य कात्तिक अन्तिममा लगातर घटेर एक लाख ६० हजार रुपैयाँसम्म झरेको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा एक सय १५ रुपैयाँले घटेर एक हजार आठ सय ४५ रुपैयाँमा पुगेको छ ।
निरन्तर बढेको सुनचाँदीको मूल्य सरकारले आयातमा लाग्ने भन्सार महसुल घटाएसँगै आज एकैदिन ठूलो अङ्कले घटेको हो ।
सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झारेको छ भने चाँदीको पनि भन्सार महसुल दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ ।
भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशङ्काबीच भन्सार महसुल घटाइएको हो ।