काठमाडौँ । सुनको मुल्य सोमबार र मंगलबार गरी दुई दिनमै तोलामा १८ हजार पाँच सय रुपैयाँले घटेको छ ।
सुनको मुल्य आज पनि एकैदिन तोलामा दुई हजार ६ सय रुपैयाँले घटेर तोलाको एक लाख ४८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सोमबार सुन एकैदिन १५ हजार नौ सय रुपैयाँले घटेर तोलाको एक लाख ५१ हजार तीन सय रुपैयाँमा झरेको थियो । केही दिनअघि निरन्तर बढे्को सुनको मुल्य सोमबार भन्सार महसूल घटेसँगै घट्न थालेको छ ।
त्यस्तै आज चाँदीको मुल्य २५ रुपैयाँले घटेर तोलाको एक हजार आठ सय २० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
सरकारले भारतमा सुनको भन्सार महसूल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशङ्काबीच भन्सार महसूल घटाएको छ । सरकारले सुनमा भन्सार दर २० प्रतिशतबाट १० प्रतिशत र चाँदीमा १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ ।