काठमाडौं । सवारी ज्यान मुद्दामा पक्राउ परेका भाइरल झाँक्री प्रकाश भुजेल पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
गएको कात्तिक २८ गते उनले चलाएको कारको ठक्करबाट बा प्र ०२–०१८–प ६८७५ नम्बरको मोटरसाइकलमा सवार दम्पतीको ज्यान गएको थियो । कात्तिक २८ गते दिउँसो काठमाडौंको शंखरापुर नगरपालिका -९ स्थित साँखु–थली सडकखण्डमा उनले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका -२ आलापोटका ३८ वर्षका नारायण नगरकोटी र उनकी पत्नी ३२ वर्षकी सानुमाया नगरकोटी घाइते भएका थिए । दुर्घटनाको भोलिपल्ट अस्पतालमा दुवै जनाको मृत्यु भएको थियो ।
दुर्घटनापछि कार त्यहीँ छाडेर भागेका झाँक्री पछि बौद्ध प्रहरी वृत्तमा उपस्थित भएका थिए । उनलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरेको थियो ।
तर दुवै जनाको ज्यान गएपछि पीडित परिवारले आर्थिक सहायताको माग गर्दै शव समेत बुझ्न मानेका थिएनन् । झाँक्रीले मृतकका परिवारलाई आर्थिक सहायता दिएपछि शव पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको थियो ।