काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सेवा दिन र विकासको गति दिन विभिन्न कानुनमा संशोधनका लागि अध्यादेश ल्याएको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी १५ दिनपछि हुने ससद्को अधिवेशनमा पेस गरी दुईमहिना भित्र पारित गर्ने समेत बताउनुभयो।
उहाँले मुलुकलाई समृद्धितर्फ अघि बढाउनका लागि आवश्यक कानूनी लगायतका अन्य पूर्वाधारका कामलाई प्राथमिकतामा राखेको धारणा राख्नुभयो । उहाँले बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएरहेको जानकारी दिनुभयो।
स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठुला उद्योगको स्थापना हुने क्रममा रहेकाले उत्पादित ऊर्जाको खपदको चिन्ता नभएको प्रतिक्रिया दिनुभयो ।
देशलाई आधुनिकीकरण र विकास गर्दै अध्याँरोबाट उज्यालोमा लाने प्रयासमा लागेका ऊर्जाउत्पादकहरुको योगदान महत्वपूर्ण रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । उहाँले ऊर्जा क्षेत्रमा सरकारका साथै निजी र वैदेशिक लगानीलाई समेत उत्तिकै महत्व दिइएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले जलस्रोत क्षेत्रमा ढूक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । उहाँले मुलुकमा अधिकतम विद्युत उत्पादन गरि स्वदेशमा खपत गर्ने र बाँकी विधुत बिक्रि गर्दै मुलुकलाई समृद्ध बनाउने बताउनुभयो ।
मन्त्री खड्काले ऊर्जा उत्पादन गरी राष्ट्रको समृद्धिमा योगदान पु¥याउने लक्ष्यका साथ अघि बढेको अवस्थामा देखिएका समस्याहरु समाधान गर्न लाग्ने प्रतिक्रिया दिनुभयो ।