बुटवल । सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको ‘ब्रेक थ्रु’ गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रुपमा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबा मन्दिर नजिक रहेको बहुचर्चित सुरुङको मुख्य टनेलको शुक्रबार ‘ब्रेक थ्रु’ गर्नुभएको हो ।
प्रधानमन्त्री ओली स्थलगतरुपमा पुग्ने कार्यक्रम रहे पनि स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअलरुपमा उपस्थित हुनुभएको हो । प्रधानमन्त्री ओलीले पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यसमार्गका यात्रीहरुलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना साबित हुने बताउनुभयो । यसअघि थानकोट–नागढुङ्गा सुरुङमार्ग ब्रेक थ्रु भएको र नेपाल सुरुङयुगमा प्रवेश गरिसकेकाले त्रासको वातावरणमा यात्रा गरिहनुपर्ने अवस्था अन्त्य हुने अवस्थामा देश पुगेको उहाले बताउनुभयो ।
मुलुकमा शिघ्र विकास र सुशासन दिन अहिलेको सरकार तल्लीन रहेको भन्दै देशलाई फाइदा हुने कुराहरुमा सरकारको ध्यान जाने धारणा राख्नुभयो । बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको हो । उक्त सुरुङ निर्माणको काम गत वर्ष माघ ४ गतेदेखि शुरु भएको थियो ।
आउँदो वर्षायामको अप्ठ्यारो मौसमको समयमा सुरुङमार्गबाट सवारी साधन सञ्चालनको तयारी छ । हालसम्म, आयोजनाको भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत रहेको छ ।