काठमाडौँ । सिनामंगल पुलनजिकैको एक सुनचाँदी पसल अगाडि ‘नक्कली बम’ राख्ने एक युवकलाई प्रहरीले पक्राउ गर्यो। प्रहरीले रौतहटका २८ वर्षीय खजान्सी पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालले बताएका छन्। ती व्यक्तिलाई प्रहरीले घटनास्थलबाटै प्रकाउ गरेको हो।
बिहान साढे ६ बजेतिर २ जना व्यक्ति आएर शंकास्पद वस्तु राखेको सिसिटिभी फुटेज प्रहरीले फेला पारेको थियो। सोही फुटेजमा देखिएको व्यक्तिको हुलियाको आधारमा प्रहरीले पासवानलाई पक्राउ गरेको हो। पक्राउ पर्दा पासवास आफैले राखेको नक्कली बम सेनाको टोलीले डिस्पोज गरेको हेरेर बसिरहेका थिए।
उनी सशस्त्र प्रहरीकै पछाडि दोस्रो लहरमा अर्को व्यक्तिसँग थोरै लुकेर बम डिस्पोज गरेको हेरिरहेको पाइएपछि प्रकाउ गरिएको प्रहरीले जनाएको छ। यसरी लुकेर बसेका व्यक्तिको हुलिया फुटेजमा देखिएको व्यक्तिसँग मिलेपछि प्रहरीले पासवानलाई नियन्त्रणमा लिएको हो।
बिहान आफैले राखेको नक्कली बम हेरेर करिब १२ बजेसम्म उनी त्यहीँ बसेका थिए। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। बुधबार बिहान सिनामंगलस्थित खोटाङ हलेसी ज्वेलर्सको सटर अगाडि बमजस्तो ‘शंकास्पद वस्तु’ फेला परेको थियो। शंकास्पद वस्तु भेटिएको खबरपश्चात् घटनास्थलमा पुगेको नेपाली सेनाको टोलीले उक्त शंकास्पद वस्तु बम नभएको पुष्टि गर्दै त्यसलाई ‘डिस्पोज’ गरिसकेको छ। उक्त वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको थियो।