काठमाडौं । दुबई पुगेर चरम शोषणका शिकार भएकी एक नेपाली महिलासहित तीन नेपाली युवालाई सक्रिय उद्धार टोलीले सुरक्षित नेपाल ल्याएको छ। सरोकार केन्द्रका अध्यक्ष अधिवक्ता गोविन्द पन्थी र मिस्टर गुरुङ एन्ड रेस्क्यु टिमले रातको ३ बजे समयमै गरेको उद्धार कार्यले नारीको आत्महत्या प्रयास रोकी ज्यान बचाउन सफल भएका छन् ।
महिलाले वीजिट भिसामा झुटो रोजगारीको आश्वासनमा दलाललाई कुल रु ३ लाख ५० हजार बुझाएकी थिइन् । दुबई पुगेपछि उनी गएको बङ्गाली समूहद्वारा चरम शोषणमा परेकी थिइन् र मानसिक तनावग्रस्त भएपछि आत्महत्या प्रयास गर्न सफल भइनन् । समयमै उद्धार गरिएका कारण अहिले उनी सेफ हाउसमा सुरक्षित छन् ।
सरोकार केन्द्रका अनुसार साथमा गएका दुई युवा—सिजन र शुशिल—ले पनि “सेटिङ” र रोजगारीको नाममा दलाललाई रु ३ लाख २० हजार बुझाएर दुबई पुगेका थिए । उनीहरू पनि अहिले सुरक्षित रुपमा नेपाल ल्याउने प्रक्रियामा छन् ।
यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएको ७८ वर्षीय आमाको हृदयविदारक भिडियो सामाजिक संजालमा भाइरल भएको छ। आमाले रुँदै गोविन्द पन्थीसँग भनिन्:
“मैले छोरीले पैसा कमाउँछे भनी लालपुर्जा सहकारीमा राखेर ४ लाख ऋण निकालें । अब त छोरीको लास आउँछ कि भन्ने डरले जिउनै गाह्रो भएको छ। कृपया मेरो छोरीलाई न्याय दिलाइदिनुहोस् ।”
यो घटनाले पुनः एकपटक मानव तस्करी रोकथाम, सरकारी संयन्त्रको संवेदनशीलता र कार्यक्षमताबारे गम्भीर प्रश्न खडा गरेको छ ।
उद्धारपछि मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दर्ता गरिएको र दलालविरुद्ध कारबाहीको प्रक्रिया अघि बढाइएको छ। सरोकार केन्द्र र मिस्टर गुरुङ टिमले ‘मानव तस्करी’ अन्तर्गत मुद्दा दर्ता गराउने पहल सुरु गरेको अध्यक्ष गोविन्द पन्थीले जानकारी दिनुभएको छ ।
गोविन्द पन्थीले चेतावनी दिनुभयो, “भिजिट भिसा घुमघामका लागि हो, रोजगारीका लागि होइन । सामाजिक सञ्जालमा देखिने झूटा विज्ञापन र दलालका मिठा कुरा नमान्नुहोस् । यो बाटो अत्यन्त जोखिमपूर्ण छ ।”
सरोकार केन्द्रले जनचेतनामा जोड दिन आग्रह गर्दै भनिएको छ, नैतिक, कानुनी र व्यक्तिगत सुरक्षा सुनिश्चित गर्न सबैले सचेत रहौं र अरूलाई पनि सतर्क गरौं ।