काठमाडौं । अब साउन १ गतेदेखि सेयर धितोमा राखेर अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा लिन सकिने भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको परिपत्रअनुसार यो व्यवस्था भोलिदेखि (साउन १) लागू हुनेछ ।
यो कर्जाको सीमा विशेषगरी मार्जिन प्रकृतिका कर्जाका लागि लागू हुनेछ। अन्य प्रयोजनका लागि लिइने सेयर धितो कर्जामा भने सीमा लागू नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
राष्ट्र बैंकको परिपत्रमा भनिएको छ, “कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल २५ करोड कायम गरिएको छ।”
यसअघि मौद्रिक नीतिमार्फत सिंगल अब्लिगर लिमिट १० करोडबाट १५ करोड पुर्याइएको थियो भने अब उक्त सीमा थप बढाएर २५ करोड पुर्याइएको हो। यद्यपि, संस्थागत ऋणीहरूका लागि भने कुनै सीमा तोकिएको छैन ।
आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले यस्तो निर्णय गरेका थिए । उनका सेयर बजारमैत्री नीति र कर्जासम्बन्धी सहजताका कारण सेयर बजारमा तीन दिनसम्म उच्च बृद्धि देखिएको थियो, यद्यपि त्यसपछि एक दिन गिरावट आएको छ ।