काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार परिसूचक १८.४४ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक १८.४४ अङ्कले घट्दै २९६४.२० विन्दुमा पुगेर रोकिएको हो ।
आजको दिनमा कुल २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। कारोबार संख्या हेर्दा ५ करोड ८६ लाख कित्ता शेयर २ लाख ३ हजार ६५८ पटक किनबेच भएका छन् ।
आजको कारोबारमा ९२ कम्पनीको शेयर मूल्यमा वृद्धि देखिएको छ भने २२५ कम्पनीको मूल्य घटेको छ। ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। बजार परिसूचक हेर्दा बैंकिङ, होटल तथा पर्यटन, जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लगानी र अन्य सूचक ओरालो लागेका छन् । तर, ट्रेडिङ, विकास बैंक, उत्पादन र म्युचुअल फण्ड समूहमा भने सुधार देखिएको छ । माइक्रोफाइनान्स समूह भने स्थिर रहेको छ ।
आज ट्रेड टावर लिमिटेड, समता लघुवित्त वित्तीय संस्था र सान्भी इनर्जीका सेयरमा सकारात्मक सर्किट लागेको छ । यता, नारायणी विकास बैंक, एनआईसी एशिया डिबेन्चर र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनका सेयर मूल्यमा उच्च गिरावट आएको छ ।
आजको बजार गतिविधिले लगानीकर्तामा सतर्कता बढाएको देखिन्छ भने बजारमा उतार-चढावको अवस्था यथावत् रहेको छ ।