काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका-७ घर भई भक्तपुर सूर्यविनायक बस्ने ३१ वर्षीय मौसम मग्राती, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ३२ वर्षीय अनन्त प्रकाश श्रेष्ठ र उदयपुर ताप्ली गाउँपालिका-४ घर भई ललितपुर महानगरपालिका नखिपोट बस्ने ३० वर्षीय प्रचलन राई रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनाले रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गर्ने गरेको अनुसन्धानमा खुल्न आएको छ । जस मध्ये मौसम मग्रातीले माल्टामा आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै अन्नत श्रेष्ठले पोल्याण्डको प्रतिष्ठित कम्पनीमा मासिक २ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु बाहनामा पीडितबाट पटक पटक गरी ८ लाख रुपैयाँ ठगी गरेको र प्रचलन राईले १ जनालाई क्रोसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी ६ लाख रूपैयाँ ठगी गरेको अनुसन्धानमा खुल्न आएको छ ।
उनीहरूलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले श्रेष्ठलाई काठमाडौं जोरपाटी नारायणटारबाट मंगलबार तथा मग्रातीलाई काठमाडौं काँडाघारीबाट र राईलाई ललितपुर नखिपोटबाट बुधबार पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।