गुल्मी । गुल्मी जिल्लामा रहेका सरकारी कार्यालयले आर्थिक वर्ष ०७९/०८० मा संघ र प्रदेश सरकारद्वारा विनियोजन गरिएको कुल रकम मध्य ९२ प्रतिशत रकम खर्च गरेका छन ।
कोष तथा लेखा नियन्त्रण कार्यालय गुल्मीका प्रमुख कोष नियन्त्रक छविन्द्र बेलबासेले दिनुभएको जानकारी अनुसार जिल्लास्थित कार्यालयहरुमा संघ र प्रदेशबाट आर्थिक बर्ष ०७९/०८० मा कुल १० अरब ९९ करोड ९३ लाख ७६ हजार ४३४ रुपैयाँ बजेट विभिन्न सरकारी कार्यालयका लागि विनियोजन भएकोमा १० अरब १० करोड ५६ लाख ८८ हजार ६०३ रुपैया खर्च गरेका छन् ।
आर्थिक बर्ष ०७९/०८० को अवधिमा तोकिएको बजेट सिलिंग भन्दा करिब ८ प्रतिशत अर्थात ८९ करोड ३५ लाख ८६ हजार ६३१ रुपैया खर्च हुन् नसकी बजेट फ्रिज भएको प्रमुख कोष नियन्त्रक वेल्वासेले जानकारी दिनुभयो ।
प्रदेश सरकारबाट गत आर्थिक वर्षमा कुल विनियोजित बजेट २ अर्ब ४१ करोड ५ लाख १ हजार ६७० विनियोजित भएकोमा १ अर्ब ९१ करोड ५७ लाख ९८ हजार ५५ रुपैयाँ खर्च भएको र ४९ करोड ४७ लाख ३ हजार ६१५ रुपैयाँ खर्च हुन् नसकी फ्रिज भएको प्रमुख कोष नियन्त्रक बेलवासेले बताउनु भयो।
आर्थिक बर्ष ०७९/०८० मा चालु तर्फ ९२ करोड ९१ लाख ३ हजार ६७० रुपैयाँ विनियोजित भएकोमा ८१.१७ प्रतिशत अर्थात ७५ करोड ४२ लाख १८ हजार ८० रुपैयाँ खर्च भएको छ भने १८.८३ प्रतिशतआर अर्थात १७ करोड ४९ लाख १२ हजार ५९० रुपैयाँ खर्च हुन् नसकी फ्रिज भएको छ ।
पूँजीगत तर्फ १ अर्ब ४८ करोड १३ लाख ७१ हजार विनियोजित भएकोमा ७८.४१२५ प्रतिशत अर्थात १ अर्ब १६ करोड १५ लाख ७९ हजार ९७५ रुपैयाँ बराबरको काम भएको छ भने २१.५८ प्रतिशत अर्थात ३१ करोड ९७ लाख ९१ हजार २५ रुपैयाँ समयमा काम परिचालन हुन् नसक्दा फ्रिज भएको छ ।
संघ सरकारबाट ८ अर्ब ५८ करोड ८८ लाख ७४ हजार ७६४ रुपैयाँ बजेट प्राप्त भएकोमा ९५.३५ प्रतिशत अर्थात ८ अर्ब १८ करोड ९९ लाख ६४८ रुपैयाँ बराबको कार्य सम्पन्न भएको छ भने ४.६५ प्रतिशत अर्थात ३९ करोड ८९ लाख ७४ हजार ११६ रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय गुल्मीले जनाएको छ।
संघको चालु खर्चतर्फ कुल ७ अर्ब ५९ करोड ६२ लाख ५७ हजार २४ रुपैया विनियोजित भएकोमा ९६।५८ प्रतिशत अर्थात ७ अर्ब ३३ करोड ६० लाख ९९ हजार ३०४ रुपैयाँ बराबरको काम सम्पन्न भएको र ३.४२ प्रतिशत अर्थात २६ करोड १५ लाख ७ हजार ७१९ रुपैयाँको कार्य सम्पन्न हुन नसक्दा फ्रिज भएको छ ।
त्यस्तै पूँजीगत तर्फ ९९ करोड २६ लाख १७ हजार ७४० रुपैयाँ विनियोजित भएकोमा ८६.०२ प्रतिशत अर्थात ८५ करोड ३८ लाख ९१ हजार ३४३ रुपैयाँ बराबरको काम सम्पन्न भएको र १३.९८ प्रतिशत अर्थात १३ करोड ८७ लाख २६ हजार ३९७ रुपैयाँको काम हुन् नसक्दा फ्रिज गएको जानकारी कार्यालयले दिएको छ।
संघबाट विनियोजित बजेट मध्ये सबै भन्दा बढी रकम करदाता सेवा कार्यालयको फिर्ता गएको छ । कुल ८ लाख २५ हजार १ हजार १० त्यस कार्यालयलाई विनियोजन भएकोमा जम्म ६१.६४ प्रतिशत खर्च भएको छ भने बाँकी रकम फिर्ता गएको छ ।
त्यस्तै प्रदेशबाट विनियोजन बजेट मध्ये जिल्ला प्रहरी कार्यालयमा सबैभन्दा बढि रकम फिर्ता गएको छ । त्यस कार्यालयलाई गत बर्ष १ करोड १० लाख विनियोजन भएकोमा जम्मा २७।०६ प्रतिशत मात्रै काम भएको कोलेनिका कार्यालयको विवरणमा उल्लेख छ ।
जम्मा २९ लाख ७६ हजार २१६ रुपैयाँ खर्च भएको छ भने बाँकी एक करोड बढि रकम फिर्ता भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी नवलकिशोर प्रधानका अनुसार रुरुक्षेत्र गाउँपालिकाको केन्द्रमा प्रहरी चौकी भवन निर्माणका लागि बजेट स्वीकृत भएपनि जग्गा उपलब्ध हुन नसक्दा फिर्ता भएको जानकारी दिए ।
इस्मा गाउँपालिकामा संचालित जिवराज आश्रित बहुप्राविधिक शिक्षालयका लागि पनि संघबाट गत बर्ष १ करोड ७५ लाख ६ हजार विनियोजन भएकोमा जम्मा ५१.९५ प्रतिशत खर्च भएको र बाँकी ८४ लाख ७१ ह्जार ४७ रुपैयाँ फिर्ता गएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय मार्फत प्रदेश मन्त्रालयबाट स्वीकृत बजेटको शत प्रतिशत काम सम्पन्न पालिकाहरुमा रेसुङ्गा नगरपालिका,मुसिकोट नगरपालिका , कालिगण्डकी गाउँपालिका , गुल्मीदरबार र छत्रकोट गाउँपालिका रहेका छन ।
गत आर्थिक वर्ष प्रदेशबाट गुल्मीका २० वटा सरकारी कार्यालय र १० वटा गाउँपालिकालाई विभिन्न शिर्षकमा कोलेनिका मार्फत बजेट निकासा भएको थियो।
सो कार्यालय मार्फत संघबाट २६ वटा सरकारी कार्यालय र १२ वटै स्थानीयतहलाई विभिन्न शिर्षकमा बजेट छुट्टीएको थियो । संघ र प्रदेशबाट सिधै पालिकामा आउने बजेटको पालिकागत खर्चको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रमुख कोष नियन्त्रक वेल्वासेले बताउनु भयो छ ।