बुटवल – लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार मन्त्रीले राजीनामा दिएका छन्।
बजेटको अन्तिम तयारी चलिरहेका बेला मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता चेतनारायण आचार्य को निर्देशनमा मन्त्री परिवर्तन प्रक्रिया अघि बढाइएको हो।
एमालेको तर्फबाट सरकारमा रहेका भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरी लाई राजीनामा दिन निर्देशन दिइएको र राजीनामा बुझाउने प्रक्रिया जारी रहेको मुख्यमन्त्री आचार्यले पुष्टि गरेका छन्।
मुख्यमन्त्री आचार्यका अनुसार सरकारमा नयाँ अनुहारलाई अवसर दिन तथा जिम्मेवारी पुनः बाँडफाँट गर्न मन्त्री हेरफेरको प्रक्रिया सुरु गरिएको हो।
यसैबीच, नेपाली कांग्रेस ले पूर्वसहमतिअनुसार नेतृत्वसहित सरकार पुनर्गठन हुनुपर्ने अडान कायम राख्दै आएको छ। जेठको पहिलो सातादेखि मन्त्री परिवर्तनको चर्चा भए पनि कांग्रेसले मुख्यमन्त्रीसहित समग्र मन्त्रिपरिषद् पुनर्गठनको पक्षमा धारणा राखेपछि प्रक्रिया केही समय रोकिएको थियो।
बुधबार नै नयाँ मन्त्री नियुक्त गरी शपथ गराउने तयारी भए पनि कृष्णबहादुर घर्ती मगर प्रदेश बाहिर रहेकाले तत्काल नियुक्ति सम्भव नहुने बताइएको छ। सचिवालयका अनुसार कम्तीमा दुई दिनपछि मात्रै नयाँ मन्त्रीहरूको नियुक्ति र शपथ प्रक्रिया अघि बढ्नेछ।
सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर आठवटा कायम गर्ने निर्णय गरिसकेको छ। सचिवालयले मन्त्रिपरिषद् परिवर्तनलाई नियमित राजनीतिक प्रक्रिया भएको उल्लेख गर्दै बजेट निर्माण र बजेट भाषणमा कुनै असर नपर्ने दाबी गरेको छ।
एमाले र कांग्रेसबीचको समझदारीअनुसार मन्त्रालय बाँडफाँटको व्यवस्था यथावत् रहने भएकाले एमालेले आफ्नो भागमा रहेका चारवटै मन्त्रालयमा नयाँ प्रतिनिधि पठाउने तयारी गरेको छ।
स्रोतका अनुसार एमालेबाट नयाँ मन्त्रीका रूपमा डिल्लीराज भुसाल, रामजी घिमिरे, तुलसीप्रसाद चौधरी र रत्न खत्री को नाम सिफारिस गरिएको छ। रत्न खत्री यसअघि मन्त्री भइसकेका व्यक्ति हुन् भने भुसाल, घिमिरे र चौधरीका लागि यो पहिलो मन्त्री पदको अवसर हुनेछ।
पार्टीले दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएर पनि मन्त्री बन्न नपाएका नेताहरूलाई प्राथमिकता दिएको जनाइएको छ।