कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका वडा नं. ६ र ११ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी तीव्र पारिएसँगै नगर बाल सञ्जालको पुनर्गठन गरिएको छ। सञ्जालका पुराना पदाधिकारी तथा सदस्यहरूको उमेर १८ वर्ष नाघेपछि प्रचलित कानुनी व्यवस्थाअनुसार स्वतः पदमुक्त हुने भएकाले नगरप्रमुख सुदीप पौडेलको विशेष पहलमा नयाँ कार्यसमिति चयन गरिएको हो।
नगरप्रमुख पौडेल तथा सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठको उपस्थितिमा सम्पन्न कार्यक्रमबाट माया कुर्मीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित सञ्जालको उपाध्यक्षमा दिवस भट्टराई, सचिवमा रामेश्वर कोरी, सदस्य–सचिवमा पूर्णिमा यादव र कोषाध्यक्षमा लक्ष्मी विश्वकर्मा रहनुभएको छ भने अन्य १७ जना किशोरकिशोरीहरू सदस्यका रूपमा चयन भएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सुदीप पौडेलले बालबालिका र किशोरकिशोरीहरू राष्ट्रका भावी कर्णधार भएकाले आगामी बजेट तथा कार्यक्रममार्फत उनीहरूको क्षमता विकास र सहभागितालाई थप प्राथमिकता दिइने प्रतिबद्धता जनाउनुभयो।
त्यस्तै, सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठले बालअधिकार संरक्षण र बालमैत्री वातावरण निर्माणमा नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। कार्यक्रमका सहभागीहरूले नवगठित बाल सञ्जालले स्थानीय स्तरमा बालबालिकाको हकहित संरक्षण, नेतृत्व विकास तथा सामाजिक सहभागिता बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।