काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले कृषि सिँचाइ, खानेपानी र घरायसी प्रयोजनको विद्युत्मा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेको भन्दै त्यसको आलोचना गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले सरकारको यो कदमलाई जनविरोधी भनेका छन् ।
घिसिङका अनुसार यसअघि सिँचाइको महसुल प्रतियुनिट ७ रुपैयाँबाट घटाएर करिब २ रुपैयाँ र सामुदायिक खानेपानी लिफ्टिङको महसुल ९ रुपैयाँबाट ४ रुपैयाँ २० पैसा कायम गरिएको थियो। "कृषि सिँचाइका लागि विद्युत् निःशुल्क गर्दा पनि हुन्छ, यस्ता अत्यावश्यक क्षेत्रमा सहुलियत दिनु पर्नेमा उल्टै १३ प्रतिशत भ्याट लगाउनु दुर्भाग्यपूर्ण छ," उनले भने।
नेपाली भान्सामा ग्यासको अभाव भइरहेका बेला सरकारले इन्डक्सन चुल्हो प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै घरायसी ग्राहकलाई समेत करको भार थोपरेको घिसिङको तर्क छ। उनले सरकारले ग्यास सिलिन्डरको सट्टा इन्डक्सन चुल्हो बाँड्ने योजना ल्याउनुपर्ने सुझाव दिए । "देशमा उत्पादित विद्युत् खेर फाल्ने अनि ग्यासमा लाइन लगाउने कस्तो विडम्बना हो?" उनले भनेका छन् ।
सामान्य जनता र कृषकलाई कर लगाउनुको सट्टा ठूला उद्योगीहरूबाट 'डेडिकेटेड' र 'ट्रंक लाइन' बापतको अर्बौँ रुपैयाँ बक्यौता उठाउन सरकारले तदारुकता देखाउनुपर्ने घिसिङले उल्लेख गरेका छन्।