काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नेतृत्व र अनुहारका कारण पार्टीले अपेक्षित मत प्राप्त गर्न नसकेको भन्ने आलोचनाको जवाफ दिँदै असन्तुष्ट पक्षलाई विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्न चुनौती दिएका छन्।
सोमबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले आफ्नो अनुहारकै कारण कांग्रेसले कम मत पाएको निष्कर्ष हो भने अर्को उम्मेदवार खडा गरेर आफूलाई पराजित गर्न चुनौती दिएका हुन्।
‘मेरो अनुहारका कारण भोट नआएको र मेरो ठाउँमा अरू कसैको अनुहार भएको भए धेरै भोट आउँथ्यो भन्ने कुरा उठेको रहेछ। होला पनि,’ थापाले भने, ‘त्यसो हो भने यही विषय अधिवेशनमा लिएर गए हुन्छ। अर्को साथीले नेतृत्वका लागि प्रतिस्पर्धा गर्न सक्नुहुन्छ र मलाई हराएर पार्टीको नेतृत्व सम्हाल्न सक्नुहुन्छ।’
थापाले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व परिवर्तन गर्न असन्तुष्ट पक्षलाई आह्वान गर्दै पार्टीको अधिवेशनलाई निष्पक्ष, न्यायपूर्ण र समावेशी बनाउन आफू जुनसुकै शर्त र प्रक्रियामा छलफल गर्न तयार रहेको बताए।
उनले अधिवेशनमा सबैको सहभागिता र समान अवसर सुनिश्चित हुनुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक व्यवस्था गर्न आफू तयार रहेको स्पष्ट पारे।
पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन तथा नेतृत्वको विषय पारदर्शी ढंगले टुंग्याउन आफू सधैं सकारात्मक रहेको थापाको भनाइ छ।