पुरुषोत्तम सुबेदी-
नवलपरासी । राहतमा मात्र सीमित रहेन सहयोग, विद्यालय तहसम्मको सम्पूर्ण शिक्षा खर्च व्यहोर्ने घोषणा पश्चिम नवलपरासी, भदौ २१ गते । रसुवामा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१, बासाबसही नयाँटोल निवासी माधव चौधरीका दुई छोराछोरीको विद्यालय तहसम्मको सम्पूर्ण शिक्षा खर्च सरावल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र यादवले व्यहोर्ने घोषणा गर्नुभएको छ ।
बाढीले परिवारका मुख्य कमाउने सदस्यलाई बेपत्ता बनाएपछि चौधरी परिवार यतिबेला आर्थिकसँगै गहिरो मानसिक संकटमा छ । यस्तो अवस्थामा बालबालिकाको पढाइसमेत प्रभावित हुने जोखिम बढेपछि यादवले उनीहरूको शिक्षा निरन्तरताको दीर्घकालीन जिम्मेवारी लिने घोषणा गर्नुभएको हो ।
यादवले यसअघि पनि विपद्मा परेको चौधरी परिवारलाई खाद्यान्न तथा अत्यावश्यक राहत सामग्री उपलब्ध गराउनुभएको थियो । तत्कालको आवश्यकता पूरा गर्न राहत उपलब्ध गराएपछि अब बालबालिकाको भविष्यलाई केन्द्रमा राख्दै शिक्षा खर्च व्यहोर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
अचानक आइपरेको आर्थिक संकटका कारण विद्यालय शिक्षा बीचमै रोकिने अवस्थामा पुगेका बालबालिकाका लागि यादवको यो सहयोग महत्वपूर्ण बनेको स्थानीयको भनाइ छ । उनीहरूले विपद्पछिको सहयोगलाई केवल केही दिनको राहतमा सीमित नगरी पीडित परिवारको भविष्य निर्माणसँग जोड्नुपर्ने उदाहरणीय काम भएको बताएका छन् ।
बाढीले घरपरिवार र आम्दानीको आधार नै खोसेको अवस्थामा बालबालिकाको शिक्षाको जिम्मेवारी लिने यादवको घोषणाले चौधरी परिवारलाई आर्थिक राहत मात्र नभई ठूलो मनोवैज्ञानिक हौसला पनि दिएको छ । विपद्ले घर उजाड्न सक्छ, तर सहयोगी हातले भविष्य उजाडिनबाट जोगाउन सक्छन् ।
चौधरी परिवारका बालबालिकाको शिक्षाका लागि गरिएको यादवको यो प्रतिबद्धता विपद्मा मानवीय सहयोगको एउटा दीर्घकालीन र अनुकरणीय उदाहरण बनेको छ ।