‘गगन थापालाई सभापति मान्न तयार छौँ, विवाद समाधानका लागि महाधिवेशन प्रक्रिया रोकौँ’
कञ्चनपुर। नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीभित्रको विवाद समाधान नगरी महाधिवेशनको प्रक्रिया अघि बढाइए कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने चेतावनी दिएका छन्। कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा नेता लेखकले पार्टीको एकता जोगाउन आफूहरू अझै पनि अधिकतम लचकताका साथ अघि बढिरहेको बताएका हुन्।
लेखकका अनुसार विशेष महाधिवेशनमार्फत १४औँ महाधिवेशनबाट बनेको कार्यसमिति हटाइएपछि अहिलेको विवाद उत्पन्न भएको हो। त्यसैले विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट बनेका दुवै संरचनालाई समेटेर विवादको समाधान खोज्नुपर्ने उनको भनाइ छ।
‘हामीले गगन जीलाई नै सभापति मान्ने गरी पार्टी मिलाउने प्रयास गरेका हौँ, तर मिल्न सकिरहेको छैन,’ लेखकले भने। उनले सभापति गगन थापालाई हटाउने आफूहरूको माग नरहेको स्पष्ट पार्दै १४औँ महाधिवेशनको कार्यसमितिमा रहेका तर विशेष महाधिवेशनमा नसमेटिएका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समेट्नुपर्ने प्रस्ताव आफूहरूले अघि सारेको बताए।
सभापति थापा अल्पमतमा पर्ने अवस्था आउने भए आफ्नो पक्षबाट आवश्यक सदस्य थपेर बहुमत कायम गर्न सक्ने विकल्पसमेत आफूहरूले दिएको लेखकको दाबी छ।
त्यस्तै, निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा सभापति थापाले संयोजक तोक्ने र आफ्नो बहुमत राख्ने अधिकार कायम राख्दै अन्य समूहबाट समेत एक–एक जना प्रतिनिधि राख्नुपर्ने प्रस्ताव गरिएको उनले बताए।
‘अहिले पनि पार्टी जोगाउने उपाय छ’
पार्टी एकताका लागि करिब ११ महिनादेखि निरन्तर प्रयास भइरहेको उल्लेख गर्दै लेखकले अझै पनि विवाद समाधानको सम्भावना जीवित रहेको बताए। ‘अहिले पनि उपाय छ । आफ्नो-आफ्नो ठाउँबाट महाधिवेशन रोकौँ । यदि महाधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ,’ उनले चेतावनी दिए।
लेखकले अदालतको फैसला कुरेर अघि बढ्नुपर्नेमा समेत जोड दिए। पार्टीको आधिकारिकतासम्बन्धी मुख्य मुद्दा अझै विचाराधीन रहेको उल्लेख गर्दै उनले अदालतको कुनै एउटा फैसला आफ्नो पक्षमा आएको आधारमा त्यसलाई सम्पूर्ण विवादको अन्तिम समाधानका रूपमा बुझ्न नहुने बताए।
उनले कांग्रेसलाई विभाजनबाट जोगाउने अन्तिम उपायका रूपमा महाधिवेशन प्रक्रिया तत्काल रोक्न आग्रह गरे। लेखकको चेतावनी स्पष्ट छ-विवाद समाधान नगरी महाधिवेशन अघि बढाइए त्यसबाट उत्पन्न हुने विभाजनको जिम्मेवारी महाधिवेशन प्रक्रिया अघि बढाउने पक्षले लिनुपर्नेछ।