काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति पदका लागि देवराज चालिसेले उम्मेदवारी दर्ता गराएका छन्।
चालिसेले मंगलबार राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालय पुगेर उपसभापति पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा दर्ता गराएका हुन्। उनको उम्मेदवारीसँगै कांग्रेसको नयाँ नेतृत्व चयनका लागि उपसभापति पदमा प्रतिस्पर्धा थप रोचक बनेको छ।
विशेष महाधिवेशनपछि पार्टी प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका चालिसेले अब पार्टीको नेतृत्व तहमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्। प्रवक्ताका रूपमा पार्टीका धारणा सार्वजनिक गर्ने तथा समसामयिक राजनीतिक विषयमा कांग्रेसको प्रतिनिधित्व गर्दै आएका उनी उपसभापति पदका लागि चुनावी मैदानमा उत्रिएका छन्।
१५औँ महाधिवेशनमा नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया जारी रहँदा विभिन्न पदमा नेताहरूले उम्मेदवारी दर्ता गराउने क्रम तीव्र बनेको छ। उपसभापतिमा चालिसेको उम्मेदवारीसँगै कांग्रेसभित्रको नेतृत्व प्रतिस्पर्धा थप पेचिलो बन्दै गएको छ।