बुटवल । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले कपिलवस्तुमा पालिका अधिवेशनलाई तीव्रता दिएको छ। जिल्लाका १० स्थानीय तहमध्ये चार पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने तीन पालिकामा बुधबार अधिवेशन जारी छ।
नेपाली कांग्रेस देउवा पक्ष कपिलवस्तुका जिल्ला संयोजक राजेश सिंहका अनुसार बाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका, शुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिकामा पालिका अधिवेशन सम्पन्न भएको हो।
त्यसैगरी यशोधरा गाउँपालिका, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकामा अधिवेशन प्रक्रिया अघि बढिरहेको छ। बाँकी तीन गाउँपालिका तथा नगरपालिकामा पनि आगामी एक–दुई दिनभित्र अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको सिंहले जानकारी दिए।
उनका अनुसार वडा अधिवेशन सम्पन्न भएसँगै गाउँ तथा नगर अधिवेशनलाई समेत उत्साहका साथ अघि बढाइएको छ। बाँकी रहेका पालिकामा पनि सहमति र संगठनात्मक तयारीलाई अघि बढाउँदै छिट्टै अधिवेशन सम्पन्न गर्ने गरी काम भइरहेको छ।
कपिलवस्तुमा पालिका तहको अधिवेशन तीव्र रूपमा अघि बढेसँगै देउवा पक्षले जिल्लाको संगठनात्मक संरचनालाई पालिका हुँदै जिल्ला तहसम्म विस्तार गर्ने तयारीलाई समेत गति दिएको छ। आगामी महाधिवेशनलाई लक्षित गर्दै जिल्लामा वडा र पालिका तहका अधिवेशनलाई प्राथमिकताका साथ अघि बढाइएको हो।