काठमाडौँ । बलिउड तथा मराठी सिनेमाका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। बिहीबार बिहान गोवास्थित आफ्नै निवासमा हृदयाघात भएपछि उनलाई अस्पताल लगिए पनि चिकित्सकको प्रयास सफल हुन सकेन।
पाटेकरलाई बिहान आफ्नै निवासमा अचेत अवस्थामा भेटिएपछि तत्काल मणिपाल अस्पताल पुर्याइएको थियो। चिकित्सकहरूले करिब ४५ मिनेटसम्म सीपीआरमार्फत उनलाई बचाउने प्रयास गरेका थिए। तर, उपचारका क्रममा बिहान ५ः२० बजे उनको निधन भएको चिकित्सक डा. शेखर सालकरले पुष्टि गरेका छन्। उनको निधनसम्बन्धी मेडिको–लिगल प्रक्रिया अघि बढाइएको छ भने पोस्टमार्टम गरिने जनाइएको छ।
नाना पाटेकरको वास्तविक नाम विश्वनाथ पाटेकर थियो। सन् १९७८ मा ‘गमन’बाट चलचित्र यात्रामा प्रवेश गरेका उनले करिब पाँच दशक लामो करियरमा हिन्दी र मराठी सिनेमामा आफ्नो छुट्टै पहिचान बनाए। गम्भीर, शक्तिशाली तथा मनोवैज्ञानिक चरित्रदेखि हास्य भूमिकासम्म उनको अभिनय उत्तिकै प्रभावशाली मानिन्थ्यो।
सन् १९८९ मा प्रदर्शनमा आएको ‘परिन्दा’ उनको करियरको महत्वपूर्ण मोड बन्यो। उक्त चलचित्रमा ‘अन्ना’को भूमिकामा गरेको दमदार अभिनयका लागि उनले उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गरे। त्यसपछि ‘क्रान्तिवीर’का लागि उत्कृष्ट अभिनेता र ‘अग्निसाक्षी’का लागि उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार जित्दै उनले तीनवटा राष्ट्रिय फिल्म पुरस्कार आफ्नो नाममा पारे।
पाटेकरको अभिनय यात्रा गम्भीर र सामाजिक विषयका चलचित्रमा मात्र सीमित रहेन। सन् २००७ को लोकप्रिय चलचित्र ‘वेलकम’मा उनले निभाएको ग्याङ्स्टर ‘उदय शेट्टी’को भूमिका नयाँ पुस्तामाझ समेत निकै लोकप्रिय बन्यो। ‘वेलकम ब्याक’मा पनि उनले यही चरित्रलाई निरन्तरता दिएका थिए।
अभिनयसँगै पाटेकर निर्देशक र रंगकर्मीका रूपमा पनि सक्रिय थिए। उनले ‘प्रहार : द फाइनल अट्याक’ निर्देशन गरेका थिए। सैनिक जीवनलाई नजिकबाट बुझ्न उनले मराठा लाइट इन्फेन्ट्रीसँग सैन्य तालिमसमेत लिएका थिए। कारगिल युद्धका क्रममा सैनिकहरूसँग समय बिताएर उनीहरूको हौसला बढाएको प्रसंगले पनि उनको व्यक्तित्वको अर्को पाटो देखाउँछ।
भारतीय चलचित्र क्षेत्रमा पुर्याएको योगदानका लागि पाटेकरलाई सन् २०१३ मा भारतको प्रतिष्ठित पद्मश्री सम्मान प्रदान गरिएको थियो।
सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत पाटेकरको विशिष्ट अभिनय शैली र प्रभावशाली उपस्थितिको स्मरण गर्दै श्रद्धाञ्जली दिएका छन्।
करिब पाँच दशक लामो अभिनय यात्रामा शक्तिशाली संवाद, तीव्र भावभंगिमा र चरित्रमा डुबेर अभिनय गर्ने शैलीका कारण छुट्टै पहिचान बनाएका नाना पाटेकरको निधनसँगै हिन्दी तथा मराठी चलचित्रले एउटा प्रभावशाली अध्याय गुमाएको छ।