रुपन्देही । चाडपर्व लक्षित सुरक्षा निगरानी बढाइरहेको रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका रु ५ लाख १३ हजार ६ सय मूल्य बराबरका सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका, सिद्धार्थनगर नगरपालिका लगायतका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनबहादुर शाहीले जानकारी दिए।
प्रहरीका अनुसार बरामद सामानमा कपडा, खाद्यान्न, विभिन्न किराना सामग्री, फ्लावर पोट, टर्च तथा पटाका लगायतका सामग्री रहेका छन्।
भन्सार छली तथा अवैध चोरी पैठारी नियन्त्रणका लागि प्रहरीले जिल्लाका सीमा क्षेत्रसँगै विभिन्न स्थानमा चेकजाँच र निगरानीलाई तीव्र बनाएको जनाएको छ। बरामद गरिएका सामान आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरी उपरीक्षक शाहीले बताए।
चाडपर्वको समयमा सीमावर्ती क्षेत्रबाट अवैध रूपमा सामान भित्र्याउने तथा चोरी पैठारीका गतिविधि बढ्न सक्ने भएकाले विशेष निगरानी बढाइएको प्रहरीको भनाइ छ। त्यसका लागि सीमा क्षेत्र तथा जिल्लाका विभिन्न संवेदनशील स्थानमा प्रहरी परिचालन गरी नियमित चेकजाँच भइरहेको छ।
प्रहरीले अवैध आयात तथा चोरी पैठारी नियन्त्रणलाई प्रभावकारी बनाउन सीमा क्षेत्रमा निगरानी थप कडाइ गरिने जनाएको छ।