काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानको समय सरेको छ। मतदान आज दिउँसो ३ बजेदेखि सुरु हुने स्रोतले जनाएको छ। यसअघि मतदान बिहान १० बजेदेखि सुरु हुने भनिए पनि महाधिवेशनस्थलमा देखिएको व्यवस्थापकीय तयारी, निर्वाचन प्रक्रियासँग सम्बन्धित काम तथा प्रतिनिधिहरूको व्यवस्थापनका कारण समय परिवर्तन गरिएको स्रोतको भनाइ छ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि देशभरबाट आएका ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। मतदानबाट पार्टीको २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुनेछ। महाधिवेशनमा सभापतिसहित विभिन्न पदका लागि उम्मेदवारी परेको छ। नेतृत्व चयनका लागि प्रतिनिधिहरूबीच पछिल्ला घडीसम्म पनि भेटघाट, छलफल र मत माग्ने क्रम तीव्र बनेको छ।
विशेषगरी सभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यका उम्मेदवारहरू आफ्ना पक्षमा मत जुटाउन सक्रिय छन्। उम्मेदवारहरूले व्यक्तिगत सम्पर्कसँगै समूहगत रूपमा पनि प्रतिनिधिहरूसँग अन्तिम चरणको संवाद गरिरहेका छन्।
मतदानको समय ३ बजे तोकिएको भए पनि निर्वाचन समितिबाट औपचारिक सूचना आउन बाँकी रहेको स्रोतले जनाएको छ। निर्वाचन समितिको औपचारिक निर्णयपछि मतदानको समय र प्रक्रियाबारे थप स्पष्टता आउनेछ।
कांग्रेसको १५औँ महाधिवेशनलाई पार्टीको नयाँ नेतृत्व चयनसँगै संगठन पुनर्गठन, पुस्तान्तरण र बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीलाई नयाँ दिशामा अघि बढाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।