काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खसेको छ। मतदान प्रक्रिया निर्वाध रूपमा अघि बढिरहेको मिडिया सेन्टरका प्रमुख जीवन भण्डारीले जानकारी दिएका छन्।
भण्डारीका अनुसार कोशी प्रदेशबाट ४१०, सुदूरपश्चिम र कर्णाली प्रदेशबाट संयुक्त रूपमा ६०६, लुम्बिनी प्रदेशबाट ३८९, गण्डकी प्रदेशबाट ३३०, बागमती प्रदेशबाट ४८७ र मधेश प्रदेशबाट ४२२ मत खसेको छ।
प्रदेशगत विवरणअनुसार सुदूरपश्चिम र कर्णालीबाट सबैभन्दा बढी ६०६ मत खसेको छ भने गण्डकी प्रदेशबाट सबैभन्दा कम ३३० मत परेको छ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महाधिवेशन प्रतिनिधिहरूले सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गर्न मतदान गरिरहेका छन्। पार्टीको आगामी राजनीतिक दिशा र संगठनात्मक नेतृत्व तय गर्ने भएकाले यस महाधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ।
मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अघि बढिरहँदा नयाँ नेतृत्वमा को-को निर्वाचित हुनेछन् भन्ने विषयमा कांग्रेसका नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूको चासो बढेको छ।