काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ। दिउँसो ३ बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समय बढाएर साँझ ५ बजेसम्म पुर्याइएको हो।
केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै मतदानको समय थप गरिएको जनाएको छ। मतदानमा सहभागी प्रतिनिधिहरूको लामो लाइन र एक जनालाई मतदान प्रक्रिया पूरा गर्न कम्तीमा आधा घण्टा लाग्ने भएपछि समय थप गर्नुपरेको हो।
शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू उत्साहपूर्वक सहभागी भइरहेका छन्। मतदान केन्द्रमा प्रतिनिधिहरूको चाप बढेपछि निर्धारित समयमा मतदान प्रक्रिया सम्पन्न गर्न कठिनाइ भएको निर्वाचन समितिले जनाएको छ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि देशभरबाट आएका ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन्। सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यसहित विभिन्न २३ वटा क्लस्टरमा मतदान गर्नुपर्ने भएकाले प्रक्रिया लामो भएको हो।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सूचना जारी गर्दै मतदानको समय साँझ ५ बजेसम्म थप गरिएको जानकारी दिएका छन्। समय थपिएसँगै बाँकी प्रतिनिधिलाई मतदानमा सहभागी हुन थप अवसर मिलेको छ।