काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय थप गरी साँझ ७ बजेसम्म पुर्याइएको छ। यसअघि साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकिएकोमा मतदानस्थलमा महाधिवेशन प्रतिनिधिहरूको लामो लाइन भएपछि समय थप गरिएको हो।
बिहान ७ बजेदेखि सुरु भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू उत्साहपूर्वक सहभागी भइरहेका छन्। निर्धारित समयभित्र सबै प्रतिनिधिलाई मतदानमा सहभागी गराउन कठिनाइ हुने देखिएपछि मतदानको समय दुई घण्टा थप गरिएको हो।
कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयनका लागि कुल ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन्। मतदान सम्पन्न भएपछि मतगणना प्रक्रिया अघि बढ्नेछ। यस मतदानबाट पार्टीको आगामी नेतृत्व चयन हुनेछ।