काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित विश्वप्रकाश शर्माले पार्टी सभापतिमा विजयी गगन थापालाई बधाई दिँदै उनको नेतृत्वमा पार्टीले नयाँ लक्ष्य हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै शर्माले कांग्रेसको यात्रा लक्ष्यमा पुग्न अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गरेका छन्। उनले पार्टीलाई थप सशक्त बनाउँदै देशलाई सही गन्तव्यमा पुर्याउन चुनौतीहरूको संयमपूर्वक सामना गर्नुपर्ने बताएका छन्।
शर्माले फरक विचार, भावना र दृष्टिकोणलाई एकताबद्ध गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन्। विगतका उपलब्धिको संरक्षण गर्दै कमजोरी सुधार्ने र इतिहासप्रति इमानदार रहेर देशको समुन्नतिका लागि काम गर्नुपर्ने उनको भनाइ छ।
गगन थापाको नेतृत्वमा कांग्रेसले यी लक्ष्य हासिल गर्न सक्ने विश्वास व्यक्त गर्दै शर्माले आफ्नो पूर्ण साथ र समर्थन रहने प्रतिबद्धतासमेत जनाएका छन्।
‘लु ब्रदर–बलियो कमान्डका लागि शुभकामना !’ भन्दै शर्माले थापालाई नेतृत्वको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न शुभेच्छा व्यक्त गरेका छन्।
शर्माको यो सन्देशलाई कांग्रेसको नयाँ नेतृत्वलाई सहयोग गर्दै पार्टीभित्र एकता, सहकार्य र रूपान्तरणको यात्रालाई अघि बढाउने प्रतिबद्धताका रूपमा हेरिएको छ।