काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीभित्रको प्रतिस्पर्धा समाप्त भएसँगै सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर नागरिकको विश्वास जित्ने अभियानमा जुट्नुपर्ने बताएका छन्। १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपाबाट सम्बोधन गर्दै उनले अब पार्टीभित्रको जित–हार बिर्सेर रूपान्तरणको साझा लक्ष्यमा अघि बढ्नुपर्ने बताएका हुन्।
थापाले महाधिवेशनको मतगणना सकिएसँगै जय र पराजयको बहस पनि अन्त्य हुनुपर्नेमा जोड दिए। उनका अनुसार अब कांग्रेसका लागि वास्तविक जित भनेको नागरिकको विश्वास जित्नु हो, जुन कुनै एक व्यक्तिको प्रयासबाट मात्र सम्भव छैन।
‘यो महाधिवेशनको मतगणना सकिने कुरासँगै जय र पराजयको कुरा पनि सकिनुपर्छ। किनकि अब यहाँ हामी सबैले जित्ने हो। त्यो जित भनेको नागरिकको विश्वास जित्ने हो,’ थापाले भने।
सभापतिमा प्रतिस्पर्धा गरेका श्यामकृष्ण खड्गीप्रति आभार व्यक्त गर्दै थापाले उनलाई पनि साथमा लिएर अघि बढ्ने बताए। महाधिवेशनमा प्रतिस्पर्धा नगरेका अन्य नेता तथा कार्यकर्तालाई समेत समेटेर पार्टीलाई एकताबद्ध बनाउने उनको प्रतिबद्धता थियो।
उनले आन्तरिक प्रतिस्पर्धालाई पार्टीको लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण पक्षका रूपमा व्याख्या गर्दै प्रतिस्पर्धाले कांग्रेसभित्रको आन्तरिक लोकतन्त्रलाई जीवन्त बनाएको बताए। अब कसैलाई पनि भूमिकाविहीन हुन नदिई सबैलाई जिम्मेवारी र अवसर प्रदान गर्दै अघि बढ्ने उनको भनाइ थियो।
थापाले नागरिक र कांग्रेसबीच कमजोर बनेको विश्वास पुनःस्थापित गर्न नयाँ नेतृत्वले व्यवहारमै परिवर्तन देखाउनुपर्ने बताए। किसान, उद्योगी, व्यवसायी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले समेत भरोसा गर्न सक्ने पार्टी निर्माण गर्नु आफ्नो प्राथमिकता रहेको उनले उल्लेख गरे।
‘नेपाली कांग्रेसलाई माया गर्ने लाखौँ शुभेच्छुकलाई फेरि कांग्रेसमा फर्कन र घरघरमा कांग्रेसलाई स्वागत गर्ने वातावरण बनाउनुपर्छ। नयाँ इतिहास बनाउने तागत लिएर आएका छौँ,’ थापाले भने, ‘बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ।’
उनले कांग्रेसलाई व्यक्तिगत लाभ र स्वार्थको राजनीतिभन्दा माथि उठाएर सामाजिक लोकतन्त्रका मान्यताअनुसार अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। पार्टीको नयाँ नेतृत्वले नागरिकका अपेक्षा सम्बोधन गर्दै कामबाटै परिवर्तन प्रमाणित गर्नुपर्ने उनको सन्देश थियो।
महाधिवेशनबाट पारित प्रतिवेदनहरू अध्ययन गर्न एक साताको समय दिइएको जानकारी दिँदै थापाले सबैको सुझावका आधारमा पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट आगामी कार्ययोजना बनाइने बताए।
थापाको सम्बोधनले कांग्रेसको नयाँ नेतृत्वका लागि आन्तरिक एकता, कार्यशैलीमा परिवर्तन र नागरिकको विश्वास पुनःप्राप्तिलाई मुख्य प्राथमिकताका रूपमा अघि सारेको छ। अब महाधिवेशनमा देखिएको प्रतिस्पर्धालाई सहकार्यमा बदल्दै प्रतिबद्धता कार्यान्वयन गर्नु नै उनको नेतृत्वको प्रमुख परीक्षा हुनेछ।