काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्रीमा डिला संग्रौला निर्वाचित भएकी छन्। पार्टीको इतिहासमै पहिलो महिला महामन्त्री बनेर उनले नयाँ राजनीतिक इतिहास रचेकी हुन्।
महामन्त्रीमा निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै संग्रौलाले आफूलाई खुसीसँगै थप जिम्मेवारीबोध भएको बताइन्। उनले कांग्रेसलाई नयाँ उचाइ र नयाँ बाटोमा लैजाने प्रतिबद्धता व्यक्त गर्दै युवा पुस्ताको चाहनाअनुसार पार्टीलाई रूपान्तरण गर्ने अभियानमा आफू समर्पित रहने बताइन्।
‘नेपाली कांग्रेसलाई नयाँ उचाइ र नयाँ बाटोमा लैजानेछौँ,’ उनले भनिन्, ‘अहिलेको युवा पुस्ताले चाहेजस्तो कांग्रेस बनाउने हाम्रो महान् अभियानमा प्रतिबद्ध भएर लाग्नेछु।’
कांग्रेसको इतिहासमा पहिलो महिला महामन्त्री बन्न सफल भएको उपलब्धिलाई उनले आफ्नो व्यक्तिगत सफलताभन्दा पनि समग्र महिलाको गौरव र योगदानका रूपमा व्याख्या गरिन्। नेपाल महिला संघमा लामो समय काम गरेको स्मरण गर्दै उनले आफूलाई मतदान गर्ने महिला मतदाताप्रति आभार व्यक्त गरिन्।
‘दिदीबहिनीहरू सबैले मत दिनुभएको छ, यो उहाँहरूकै गौरव हो,’ उनले भनिन्।
महिला अधिकार, संगठन निर्माण र पार्टीको आन्तरिक राजनीतिमा लामो समयदेखि सक्रिय संग्रौलाले यसअघि नेपाल महिला संघको अध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छन्। पार्टीका विभिन्न संगठन तथा निकायमा काम गरेको अनुभवसमेत उनीसँग छ। उनले सहमहामन्त्रीका रूपमा पनि आठ महिना जिम्मेवारी निर्वाह गरिसकेको बताइन्।
आगामी दिनमा पार्टीले तय गर्ने योजना तथा कार्यक्रमअनुसार आफूले जिम्मेवारी पूरा गर्ने उनको भनाइ छ।
कांग्रेसको सर्वोच्च नेतृत्व तहमा महिलाको प्रतिनिधित्व स्थापित हुनु पार्टीको संगठनात्मक इतिहासमा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। पहिलो महिला महामन्त्रीका रूपमा संग्रौलासामु महिलाको राजनीतिक सहभागिता विस्तार गर्ने, युवा पुस्ताको अपेक्षा सम्बोधन गर्ने र पार्टी रूपान्तरणको अभियानलाई व्यवहारमा उतार्ने चुनौतीसमेत रहनेछ।