काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदको मतगणना तीव्र पारिएको छ। मतगणनालाई छिटो र व्यवस्थित रूपमा सम्पन्न गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा एकैसाथ २३ स्थानमा मत गन्ने काम भइरहेको छ।
सभापतिसहित प्रमुख पदाधिकारीको मतगणना सम्पन्न भएपछि निर्वाचन समितिले सहमहामन्त्री तथा विभिन्न समावेशी समूहका केन्द्रीय सदस्य पदको मतगणनालाई तीव्रता दिएको हो। धेरै पद र उम्मेदवारको मतपत्र व्यवस्थापन गर्नुपर्ने भएकाले पद तथा क्लस्टरअनुसार छुट्टाछुट्टै टोली बनाएर गणना भइरहेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
उनका अनुसार खुला सहमहामन्त्री, महिला सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्य पदको मतगणना पाँच स्थानमा भइरहेको छ। प्रवासस्थित नेपाली जनसम्पर्क समितितर्फको मतगणनाका लागि भने सबैभन्दा धेरै नौ स्थानमा टोली परिचालन गरिएको छ।
त्यसैगरी, आदिवासी जनजाति सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्यको मतगणना तीन स्थानमा भइरहेको छ। सुदूरपश्चिम प्रदेशतर्फका खुला, महिला र ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्य पदको मतगणना चार स्थानमा जारी छ। पिछडिएको क्षेत्रतर्फका सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य पदको मतगणना दुई स्थानमा भइरहेको निर्वाचन समितिले जनाएको छ।
२३ स्थानमा एकसाथ मतगणना अघि बढाइएपछि बाँकी पदहरूको नतिजा सार्वजनिक गर्ने प्रक्रिया तीव्र बनेको छ। उम्मेदवार तथा उनीहरूका आधिकारिक प्रतिनिधिको उपस्थितिमा कडा सुरक्षा व्यवस्थासहित मतगणना शान्तिपूर्ण रूपमा भइरहेको छ।
निर्वाचन समितिका सदस्य सचिव कटुवालले बुधबारसम्म सबै पदको अन्तिम नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित गणना अघि बढाइएको बताए। अघिल्लो महाधिवेशनको तुलनामा यसपटक मतदाताको संख्या दोब्बरभन्दा बढी, करिब सात हजार पुगेकाले मतगणनामा समय लाग्नु स्वाभाविक भएको उनको भनाइ छ।
अघिल्लो महाधिवेशनमा झन्डै तीन हजार मतदाता हुँदा मतगणना सम्पन्न गर्न १२ दिन लागेको स्मरण गराउँदै कटुवालले यसपटक पनि त्यति लामो समय नलाग्ने दाबी गरे।
