काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट श्रमिक क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर, पूर्वअध्यक्ष खिलानाथ दाहाल र केन्द्रीय सदस्य सीतादेवी काफ्ले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
श्रमिक आन्दोलनमा लामो समयदेखि सक्रिय रहँदै आएका तीन नेताको केन्द्रीय सदस्यमा निर्वाचित हुनुलाई कांग्रेसभित्र श्रमिक क्षेत्रको प्रतिनिधित्व र सहभागिताका दृष्टिले महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
नेपाल ट्रेड युनियन कांग्रेसमार्फत श्रमिकका हकहित, पेसागत सुरक्षा, सामाजिक न्याय तथा श्रम अधिकारका विषयमा आवाज उठाउँदै आएका उनीहरूको केन्द्रीय नेतृत्वमा प्रवेशले पार्टीको नीति निर्माणमा श्रमिकका मुद्दाले थप प्राथमिकता पाउने अपेक्षा गरिएको छ।
अध्यक्ष योगेन्द्रकुमार कुँवरले ट्रेड युनियन आन्दोलनको नेतृत्व गर्दै श्रमिकका अधिकार र हितका विषयमा काम गर्दै आएका छन्। त्यसैगरी, पूर्वअध्यक्ष खिलानाथ दाहाल ट्रेड युनियन आन्दोलनका अनुभवी नेता हुन् भने सीतादेवी काफ्लेको निर्वाचित उपस्थितिले कांग्रेसको केन्द्रीय नेतृत्वमा श्रमिक क्षेत्रको प्रतिनिधित्वलाई थप महत्त्व दिएको छ।
कांग्रेसको संगठनलाई थप समावेशी, श्रमिकमैत्री र जनमुखी बनाउन श्रमिक वर्गका समस्या तथा अपेक्षालाई पार्टीको नीति, कार्यक्रम र निर्णय प्रक्रियासँग जोड्नु आवश्यक छ। यस सन्दर्भमा तीनै नेताको केन्द्रीय सदस्यमा निर्वाचित हुनुलाई श्रमिक क्षेत्रले आफ्नो आवाज पार्टीको उच्च नेतृत्वसम्म पुर्याउने अवसरका रूपमा लिएको छ।
श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, सुरक्षित कार्यस्थल, श्रमको सम्मान र रोजगारीका अवसरजस्ता विषयलाई प्रभावकारी रूपमा सम्बोधन गर्न उनीहरूको भूमिका महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।
कांग्रेसको नयाँ नेतृत्वसामु अब श्रमिकका मुद्दालाई केवल प्रतिबद्धतामा सीमित नराखी पार्टीको नीति तथा व्यवहारमा कार्यान्वयन गर्ने चुनौतीसमेत रहेको छ।
श्रमिक क्षेत्रबाट निर्वाचित नेताहरूले आफ्नो अनुभव र संगठनात्मक क्षमतालाई उपयोग गर्दै श्रमिकका आवाजलाई कति प्रभावकारी रूपमा स्थापित गर्छन् भन्ने विषय आगामी दिनमा चासोका साथ हेरिनेछ।