काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूबाट गल्ती भए पार्टीले सभापति पदबाट हटाएर अघि बढ्नुपर्ने बताएका छन् । व्यक्ति पार्टीभन्दा ठूलो हुन नसक्ने स्पष्ट पार्दै उनले आफ्नो व्यक्तिगत कमजोरीको भार पार्टीलाई बोक्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण तथा पदबहाली समारोहलाई सम्बोधन गर्दै सभापति थापाले नेतृत्वलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नुपर्नेमा जोड दिए । उनले आफ्नो व्यक्तिगत, पारिवारिक, आर्थिक जीवन र सम्बन्धका हरेक पक्षमा जिम्मेवार तथा सचेत रहने प्रतिबद्धता जनाउँदै कुनै गलत कामले पार्टीलाई क्षति पुर्याए त्यसको जिम्मेवारी आफूले नै लिनुपर्ने बताए ।
‘पार्टी सभापति हुँदै गर्दा मेरो व्यक्तिगत जीवन, परिवार, आर्थिक जीवन र सम्बन्धहरूप्रति म सचेत र जिम्मेवार रहनुपर्छ भन्ने कुरा म बुझ्छु । मेरा कुनै गलत कामले पार्टीलाई असर पर्न सक्छ । त्यसैले, कुनै दिन म चुकेको महसुस भएमा नेपाली कांग्रेसले मलाई सभापतिबाट अलग गरेर अगाडि बढ्नुपर्छ । किनकि व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन,’ उनले भने ।
थापाले नेपाली कांग्रेस लाखौँ नेता तथा कार्यकर्ताको रगत, पसिना र योगदानबाट निर्माण भएको सार्वजनिक सम्पत्ति भएको स्मरण गराए । नेतृत्वमा रहेका व्यक्तिका गल्ती र कमजोरीको दायित्व पार्टीले बोक्नुपर्ने अवस्था आउन नहुने उनको भनाइ थियो । व्यक्तिका गलत कामको भार संस्थामाथि थोपर्दै जाने प्रवृत्तिले पार्टीलाई नै कमजोर बनाउने भएकाले त्यसको अन्त्य गर्नुपर्ने उनले बताए ।
सभापति थापाले मुलुकको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै दसैँको फूलपातीका दिनसमेत हजारौँ युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिन बाध्य हुनु गम्भीर विषय भएको उल्लेख गरे । युवाले आफ्नै देशमा स्वाभिमानका साथ जीवन बिताउन सक्ने वातावरण निर्माण गर्नु राजनीतिक दलहरूको प्रमुख जिम्मेवारी भएको उनको भनाइ थियो ।
रातारात चमत्कार गरेर मुलुकको अवस्था परिवर्तन गर्न नसकिने स्वीकार गर्दै उनले नेपाली कांग्रेसले इमानदार प्रयासमार्फत युवामा आशा जगाउनुपर्ने बताए । देशभित्रै भविष्य खोज्ने वातावरण निर्माण गर्न नसकिए मुलुकले ठूलो सम्भावना बोकेको युवा जनशक्ति गुमाउँदै जाने चिन्ता पनि उनले व्यक्त गरे ।
पार्टीभित्रका असन्तुष्टि सम्बोधन गर्ने र विभिन्न पक्षबीच समन्वय कायम गर्ने जिम्मेवारी आफूले लिने बताउँदै थापाले नेता तथा कार्यकर्तालाई निराश भएर बस्नुभन्दा सक्रिय रूपमा जनतामाझ जान आग्रह गरे । कोठाभित्र बसेर निराशाका कुरा गर्नुभन्दा जनताका वास्तविक समस्या बुझ्ने, तल्लो तहका कार्यकर्तासँग जोडिने र समाधानका लागि पहल गर्ने काममा लाग्नुपर्ने उनले बताए ।
उनले पार्टीका तल्ला तहका नेता–कार्यकर्ता तथा आम नागरिकका सुख–दुःखमा प्रत्यक्ष सहभागी हुन सम्पूर्ण पार्टी पङ्क्तिलाई आह्वान गरे । कांग्रेसभित्र सकारात्मक ऊर्जा प्रवाह गर्दै निराशालाई आशामा बदल्न र जनताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा उनले जोड दिए ।
सभापति थापाको सम्बोधनले पार्टी नेतृत्वलाई जवाफदेही बनाउने, व्यक्तिगत कमजोरीको जिम्मेवारी स्वयं लिने र संस्थालाई व्यक्तिभन्दा माथि राख्ने सन्देश दिएको छ । पार्टीको नेतृत्व सम्हालेलगत्तै उनले व्यक्तिभन्दा संस्था ठूलो हुने मान्यतालाई अघि सार्दै कांग्रेसलाई जनतासँग जोड्ने र युवामा आशा जगाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।