काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट लागू औषध गरी ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले ब्यास नगरपालिका-११ गैराबारी बस्ने २६ वर्षीय राहुल नेपालीलाई अवैध लागूऔषध गाँजा १ किलो ४ सय ग्राम सहित मंगलबार दिउँसो पक्राउ गरेको छ । नेपालीलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै झापा गाउँपालिका-४ पिचकानी टोलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ४० मिलिग्राम सहित दमक नगरपालिका-३ बस्ने २२ वर्षीय जीवन सार्कीलाई पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यसै गरी नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१६ जयसपुर बस्ने २७ वर्षीय जगत नारायण कुर्मी र धनगढी उपमहानगरपालिका-४ बस्ने २४ वर्षीय विकास थापालाई अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम २ सय ९० मिलिग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।