काभ्रे । पाँचखाल नगरपालिका–२ स्थित लौकिनी घ्याङ्ले सामुदायिक वनमा रहेको ७४ रोपनी अतिक्रमण क्षेत्र डिभिजन वन कार्यालय काभ्रेपलान्चोक अन्तर्गत डिभिजन वन कार्यालय महादेव स्थान पाँचखालले खाली गराएको छ ।
वि.सं. २०५२/५३ देखि अतिक्रमण भईरहेको उक्त स्थानको अतिक्रमण डिभिजन वन कार्यालय काभ्रे, सशस्त्र प्रहरी बल गण नं. १५, पाँचखाल प्रहरी चौकी पाँचखाल तथा उक्त लौकिनी घ्याङ्ले सामुदायिक वनको सहयोगमा उक्त अतिक्रमण हटाईएको सब डिभिजन वन कार्यालय महादेवस्थानका वन अधिकृत हरिचन्द्र तिमिल्सिनाले बताउनुभयो ।
उक्त अतिक्रमण क्षेत्र खाली गराई डिभिजन वन कार्यालय काभ्रे को आ.व. २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार अतिक्रमण क्षेत्र वरिपरि ५०० मिटर काँडेतार समेत लगाईको वन अधिकृत तिमल्सिनाले जानकारी दिनुभयो ।
उक्त अतिक्रमण हटाउने कार्यमा सक्रिय भूमिका निभाउनुहुने पाँचखाल नगरपालिका-२ का अध्यक्ष रामेश्वर दाहाल, सामुदायिक वनका अध्यक्ष रत्न बहादुर तामाङ लगायत कार्यसमिति, सशस्त्र प्रहरी, डिभिजन वन कार्यालय काभ्रे, र जिल्ला प्रशासन कार्यालय काभ्रेलाई वन अधिकृत तिमल्सिनाले हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा अतिक्रमण हटाउने कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
डिभिजन वन कार्यालय काभ्रेका वन अधिकृत देवेन्द्र पोखरेलको सक्रियतामा उक्त अतिक्रमण क्षेत्रमा पहिलो दिन १०० वटा विभिन्न जातिका विरुवा रोपण गरी वृक्षारोपण शुरुवात गरिएको छ ।