बुटवल। कानून विद्यार्थी समाज कालिकाले समुदायमा संचालन गरिने कानूनी सचेतना सम्बन्धि प्रशिक्षण कार्यक्रमको लागि प्रशिक्षकहरुलाइ प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कालिका मानवज्ञान मावि बुटवलमा कानून अध्ययनरत विद्यार्थीहरुले लुम्बिनी प्रदेशका विभिन्न स्थानमा रहेका विद्यालय, स्थानीय सरकार र नागरिक समुहको लागि कानूनी सचेतना कार्यक्रमहरु हरेक वर्ष संचालन गर्दै आएका छन् । यस्तो प्रशिक्षण कार्यक्रमलाई समसामयिक विषयवस्तुमा केन्द्रित र प्रभावकारी बनाउनको लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गरिएको छ ।
प्रशिक्षण कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता तेज प्रसाद कंडेलले कानूनका विद्यार्थीहरु समाजका संवाहक भएकोले उनीहरुले समुदायमा कानूनका कुराहरु बुझाएर कानूनमैत्री समाजको निर्माणमा सहयोग पु¥याउनुपर्ने बताउनुभयो । उहाँले कानूनका विद्यार्थीहरुले विद्यमान कानून, विधि , नजिर र अभ्यासको बारेमा बढी चासो राख्ने र विषयगत जानकारी राख्ने भएकोले पनि उनीहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका प्रत्येक कुनामा कानूनी सचेतना कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
कालिका मानवज्ञान माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नित्यानन्द ज्ञवालीले विद्यार्थीहरुले कक्षा कोठामा सिकेको कानूनी ज्ञानलाई समुदायमा बाँड्न सकेमा मात्र शिक्षा व्यवहारिक हुने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक दिनेश थापाले विद्यालयमा भैरहेका शैक्षिक अभ्यास र समुदायमा त्यसबाट पुगेको योगदानको चर्चा कानूनका विद्यार्थीहरुले गरेको सामाजिक र व्यवहारिक अभ्यासले गर्दा कानून शिक्षामा कालिका मानवज्ञान माबी नेपालमै अब्बल ठहरिएको बताउनुभुयो ।
अधिवक्ता तथा कानून शिक्षक शेराचन्द्र गिरीले कानूनी सचेतना महत्व र विद्यार्थिहरुले खेल्नुपर्ने भूमिकाको बारेमा चर्चा गरीका थिए । कार्यक्रममा अधिवक्ता दामोदर घिमिरेले नेपालको देवानी कानूनको बारेमा र अधिवक्ता ज्ञानु केसीले न्यायिक समितिको काम, कर्तब्य ,अधिकार र न्यायिक कार्यविधिको बारेमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा १८० जना विद्यार्थी सहभागी थिए ।
प्रशिक्षण लिएका कानूनका विद्यार्थीहरुले लुम्बिनी प्रदेशका विभिन्न स्थानमा रहेका नागरिक समुह, विद्यार्थी र जनप्रतिनिधिहरुलाई कानूनी सचेतना सम्बन्धमा प्रशिक्षण दिने कानून विद्यार्थी समाज कालिकाका अध्यक्ष विवेक पौडेलले बताउनुभयो ।