गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ बर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका बाँके खजुरा गाउँपालिका–७ का २३ बर्षीय रहिस खाँ जिल्ला अदालत गुल्मीको आदेश बमोजिम पुर्पक्षका लागि जेल चलान भएका छन् ।
उनी १७ कार्तिकमा शान्तिपुरबाट पक्राउ परेका आरोपित खाँलाई सोमबारको जिल्ला अदालत गुल्मीको आदेशबाट पुर्पक्षको लागि जेल चलान भएका हुन ।
१७ कार्तिकमा बालिका शान्तिपुर घर नजिकैको हुँग्दीखोलामा नग्न र डुवेको अवस्थामा फेला परेपछि हत्या भएको आशंकामा स्थानीय बासिन्दाले अनुसन्धानका लागि दवाब दिने उदेश्यले विरोध प्रदर्शन गरेका थिए।
घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख नविन किशोर प्रधानसहितको प्रहरीको टोली तत्काल घटनास्थल पुगेर घटनाको अनुसन्धान गर्ने क्रममा खाँ लाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा खाँलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानपछि गुल्मी अदालत पेश गरेको थियो । सोमबार जिल्ला अदालत गुल्मीले खाँलाई पुर्पक्षको लागि जिल्ला कारागार गुल्मी चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।
शान्तिपुरको श्रीलंकाटोलमा आमासंग भाडाको घरमा बस्दै आएकी बालिका १६ कार्तिकमा आमासंग घर नजिकैको खेतमा काम गर्न गएकी र सोहि दिन बिहान ११ बजे खेतलालाई सुर्ति किन्न बजार गएपछि फर्किनन् ।
पछिल्लो तीन बर्षमा चन्द्रकोट गाउँपालिकामा घटेको दोस्रो ठुलो घटना हो । चन्द्रकोट गाउँपालिका–३ हर्राचौरको जंगलमा ०७७ कात्तिक १६ गते मोरङ कानेपोखरी गाउँपालिका–३ हर्कपुर घर भएका ३२ वर्षीया सरिता भन्ने शिवमाया लिम्बू र उनका जुम्ल्याहा छोरी ७ वर्षीया गंगा र जमुना मगरको बीभत्स हत्या गरेर फालिएको अवस्थामा फेला परेका थिए ।
प्रहरीले १३ दिनपछि घटनामा संलग्नलाई कास्कीस्थित पोखरा महानगरपालिका–२५ हेम्जाबाट पक्राउ गरेको थियो।जिल्ला अदालत गुल्मीले हत्यामा संलग्न बाग्लुङ गल्कोट नगरपालिका–८ ज्यामिरेका ४६ वर्षीय पूर्णबहादुर सुनारलाई जीवित रहेसम्म कैद सजायँ फैसला गरेको छ।