Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

तरकारी खेतीबाट मनग्य आम्दानी


१०, माघ २०८०
  • 198
    SHARES
  • तरकारी खेतीबाट मनग्य आम्दानी

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१६ मा नर्सुल्ला मियाँले व्यावसायिक तरकारीखेतीबाटै मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । अन्ठाउन्न वर्षीय मियाँ विगत २० वर्षदेखि देवचुलीमा तरकारीखेती गर्दै आउनुभएको छ ।

    बीस वर्षअघि कामको खोजीमा वीरगञ्जबाट देवचुली आउनुभएका मियाँले व्यावसायिक तरकारीखेतीबाटै जग्गाजमिन किनेर परिवारसहित स्थायीरूपमा यहीँ बसोबास गर्न थाल्नुभएको हो ।

    बितेको २० वर्षमा तरकारीबाटै मियाँको जीवन धेरै बदलिएको छ भने पारिवारिक स्थिति पनि निकै राम्रो भएको छ । मियाँले भन्नुभयो, “तरकारीखेतीबाटै मैले जीवनमा प्रगति गरेको हुँ, यहीँ व्यवसायबाट सबै परिवारलाई यहीँ सारेँ, घरघडेरी जोडे अनि चारजना छोराछोरीको पढाइसँगै विवाह पनि उम्काइसकेँ ।”

    पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको दुई बिघा जमिनमा खेती गर्नुभएका मियाँले वार्षिक तीन याममा तरकारी उत्पादन गर्ने गर्नुभएको छ । अहिले काउली, बन्दा, बड्काउली बेच्न भ्याइनभ्याई भएको छ । 

    केही हप्ताअघिसम्म काउलीको मूल्य नपाएर चिन्तित मियाँले अहिले काउली बारीबाटै प्रतिकिलो रु २५ मा बेच्नुभएको छ । “काँक्रो, करेला पनि लगाएको छु, अहिले बेचिरहेको छु, लगाएकामध्ये आठ कठ्ठाको तरकारी बिक्री भइसक्यो”, उहाँले भन्नुभयो, “यो याममा काउलीको भाउ नआउँदा केही घाटा भयो तर अहिले बजार सुधारियो पूरै घाटा त हुँदैन जस्तो छ ।”

    वर्षभरि तरकारी फलाउने र बेच्ने मियाँले नाफाघाटाको हिसाब भने वैशाखमा मात्र गर्ने गर्नुभएको छ । एक याममा तरकारी लगाउँदा करिब रु तीन लाख खर्च लाग्ने गरेको उहाँले बताउनुभयो ।

    कुनै याममा लगानीसमेत नउठ्नेगरी घाटा हुने गरेको मियाँको अनुभव छ । “तरकारीको बजारभाउ घटबढ हुनाले सबै सिजनमा नाफै हुन्छ भन्ने हुँदैन”, उहाँले भन्नुभयो, “एक याममा घाटा भए पनि अर्कोमा त्यसलाई परिपूर्ति गर्ने लक्ष्यका साथ काम गर्ने गरेको छु, त्यसैले आजसम्म टिकेको हुँ ।”

    आफूले सक्दासम्म नर्सुल्ला मियाँलाई तरकारीखेतीमा नै रमाउने मन छ । यहीँ व्यवसायबाट राजमार्ग छेउमा १२ कठ्ठा जमिन जोड्न सफल हुनुभएका मियाँका छोराछोरी पनि अहिले तरकारीखेतीमा सहभागी भएका छन् । “मेहनत गरे कृषिक्षेत्रमा राम्रो गर्न सकिन्छ, धैर्ययता र लगनशीलता चाहिन्छ”, उहाँले भन्नुभयो ।

    देशमा सम्भावना नदेखेर युवाहरू विदेशिने क्रम बढिरहेको बेलामा नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा मियाँजस्तै किसानले तरकारीखेतीमार्फत वैदेशिक रोजगारीबाट प्राप्त हुनेभन्दा धेरै आम्दानी गरी उदाहरणीय बनेका छन् । त्यसैमध्येका अर्का देवचुली–१६ कै नौसाद मियाँले पनि दुई बिघा जमिनमा तरकारीखेती गर्नुहुन्छ । वीरगञ्ज घर भएका नौसादको परिवार तरकारीखेतीकै लागि देवचुली आएको हो । 

    उहाँको बारीमा काउली फलेका छन् । तीन याममा तरकारी फलाउने नौसादले अहिले धान भित्र्याएपछि टमाटर, भिन्डी, घिरौँला लगाउनुभएको छ । उत्पादन भएको तरकारी खरिद गर्न ग्राहक बारीमै आउँछन् ।

    बजारको खासै पिर छैन । “तीन सिजन तरकारीखेती गर्ने गरेका छौँ, धान काटेर तरकारी लगाउँछौँ”, उहाँले भन्नुभयो, “तीस मुरी धान फल्छ यही जमिनमा अनि तरकारी लगाउँछौँ, वर्षभरि खाने अन्न पनि जोहो हुन्छ ।”

    अघिल्लो सिजनमा लगाएको काउलीको उचित मूल्य नपर्दा मियाँले आधा नै घाटा बेहोर्नुपर्यो । अबको उत्पादनले भने राम्रो आम्दानी हुने मियाँले आशा राख्नुभएको छ । तरकारीले लागतअनुसारको मूल्य पाए सबै खर्च कटाएर एक सिजनमा रु ६० हजारसम्म बचत हुने उहाँको अनुभव छ ।

    तरकारीखेतीबाटै नौसादको घरपरिवार राम्रोसँग चलेको छ । “कहिलेकाहीँ ठीकठीकै हुन्छ, कहिलेकाहीँ घाटा पनि हुन्छ, आत्तिनु भएन”, उहाँले भन्नुभयो, “एक याममा रु छ–सात लाखको कारोबार हुन्छ ।”तरकारीखेतीबाटै नौसादले छोराछोरीको पठनपाठन, औषधोपचारलगायतको घरखर्च राम्रोसँग चलाउनुभएको छ ।

    उत्पादन भएको तरकारी स्थानीय बजारसँगै नारायणगढ, पोखरा, काठमाडौँ निर्यात हुने गरेको उहाँले बताउनुभयो । “वर्षौँँदेखि व्यावसायिक तरकारीखेती गरे पनि सरकारले भने आवश्यकतानुसार सहयोग गरेको छैन”, उहाँले भन्नुभयो, “सरकारले दिने अनुदान वास्तविक किसानसम्म आउनै सकेको छैन ।”

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend