काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय गाडीको प्रोत्साहन गर्नका लागि दिइएको छुटले ३५ अर्ब बढी राजस्व कम भएको दाबी गर्नुभएको छ ।
शुक्रबार काठमाडौंमा अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. महतले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको तुलनामा विद्युतीय गाडी आयात हुँदा राजस्व अपेक्षित उठ्न नसकेको जिकिर गर्नुभएको हो ।
‘विगतमा गाडी आयात इन्धनमा आधारित भएकोमा अहिले विद्युतीय गाडीको आयात दोब्बर भएको छ’ महतले भन्नुभयो ‘विद्युतीय गाडीको न्यून भन्सार दर रहेको छ। विद्युतीय गाडीका कारण ३५ अर्ब कम राजस्व उठेको छ।’
राजश्व केही वृद्धि भएपनि लक्ष्यअनुसार उठ्न सकेको छैन । व्यवसायलाई अनलाइन प्रणालीमा ढाल्न नसके सबै किसिमका व्यवसायलाई हेर्न नसकिने उहाँको भनाई छ ।
उहाँले आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको बताउनुभयो । विद्युतीय सवारीसाधनहरुको आयात इन्धनमुखी सवारीको भन्दा दोब्बर बढी भएकाले पनि भन्सार राजश्व कम उठेको उहाँको भनाई छ ।