काठमाडौं । हत्या अपराधको गहिरो अनुसन्धान गरी दोषीमाथि कारबाही चलाउने र शान्ति सुरक्षाको जिम्मेवारी लिने प्रहरीले कर्तव्य पुरा नगर्दा बेला बेलामा विवादमा पर्ने गरेको छ।
पछिल्लो पटक रत्ननगर टाँडी चितवनकी एक किशोरीको शंकास्पद हत्याको घटनामा अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय चितवनले जाहेरी लिन समेत नमानेर आफ्नो कर्तव्यबाट विमुख भएको छ।
जनदबाब, आन्दोलन, जुलुस वा विरोध प्रदर्शन नगरेसम्म पीडितको जाहेरी समेत नलिने नेपाल प्रहरीका अधिकृतहरुमा बानी परेको देखिन्छ।
घटना गत फाल्गुन १२ गते बिहान करिव ११ बजे तिरको हो । चितवन महानगरपालिका वडा नं. –१० रत्ननगरमा रहेको एकता शिशु निकेतनमा अध्यनरत छात्रा शालिन पोखरेल स्कुलको होस्टेलमा झुन्डिएको अवस्थामा फेला परिन्।
तर, बिडम्वना ५ दिन पछि मात्रै शालिनको मृत शरिरको पोस्टमार्स्टम भयो, त्यो पनि चितवनमा नभई महाराजगञ्जस्थित टिचिङ अस्पतालमा ।
सो रिपोर्टमा उनको बलात्कार पछि हत्या गरिएको हुनसक्ने देखियो। परिवारका सदस्यले पहिल्यै आशंका गरेबमोजिम झुण्डिएर आत्महत्या गरेको कोठाको ढोका परिवारको रोहवरमा खोलिनुपर्नेमा होस्टेलको ढोका पहिले नै फुटाइएको थियो।
घटनाको प्रकृति हेर्दा झुण्डिएको भन्दा पनि झुण्डाईएको जस्तो देखिएको परिवारका सदस्यहरुको दाबी छ । छात्रा सालिनको दुबै घुडाले भुई छोएको थियो भने शरीरमा केही आलो घाउ थियो। आफू बस्ने कोठा सफाचट थियो तर अझै टेकेको घुँडामा लेभल मिलाउन स्कूल व्यागको प्रयोग गरिएको दाबी गरिएको छ।
आश्चर्यको कुरा त यो छ कि यत्रो घटना हुँदा पीडित परिवारले घटना लगतै जाहेरी दिंदा पनि जिल्ला प्रहरी कार्यालय चितवनले जाहेरी समेत लिन मानेको छैन। परिवारका सदस्यको दबाबपछि मात्र जाहेरी लियो तर पोस्टमार्स्टम भएन । प्रमाण नष्ट नहोस भनेर काठमाडौं ल्याएर ५ दिन पछि पोस्टमार्स्टम गरिएको छ।
यहाँसम्म कि प्रहरीले एक कपुर बोट मिडियाले प्रसारण गरेको भिडियोलाई समेत डिलिट गर्न बाध्य बनायो ।कञ्चनपुरकी निर्मला पन्तको जस्तै प्रकरण यो घटनामा दोहोरिएको हुन सक्ने परिवारका सदस्यको आशंका छ।
चितवनको क्षेत्र नम्बर एकाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालेदेखि अन्य जनप्रतिनिधिहरुले समेत ति किशोरीको शंकास्पद मृत्युको छानबिनको लागि दबाब नदिएको भन्दै स्थानीयहरु त्रसित बनेका छन्।