काठमाण्डौँ । पूर्व उपप्रधानमन्त्री तथा पूर्व गृहमन्त्रीहरुसमेत मुछिएका नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको पक्षको बहस अझै चलिरहेको छ । काठमाडौँ जिल्ला अदालतको प्रेमप्रसाद न्यौपानेको इजलाशमा तीन दिन यता पूर्व गृहमन्त्री बालकृष्ण खाँणका कानून व्यवसायीले बहस गरिरहेका छन् । न्यायाधीश न्यौपानेको इजालसमा गत साताको बुधबारदेखि वकिलहरुले प्रतिरक्षा बहस गरिरहेका भए पनि अझै नसकिएपछि बिहीबार जसरी बहस टुंग्याउन आदेश दिइएको छ ।
२१ गतेबाट थुनछेकका लागि बहस सुन्न थालेका जिल्ला न्यायाधीश न्यौपानेले तीन दिन सरकारी वकिललाई र त्यसपछि मंगलबारसम्म प्रतिरक्षा बहसका लागि र बुधबार सरकारी वकिललाई प्रतिजवाफ बहस गर्न दिएर बुधबार नै थुनछेकको आदेश सुनाउने गरी कार्यतालिका बनाएका थिए । तर त्यो कार्यतालिका अनुसार बहस नसकिएको हो । कार्यतालिका अनुसार सरकारी वकिलले जेठ २१, २२ र २३ गते तीन दिन आफ्नो तर्फबाट बहस सकेका थिए ।
तर त्यसपछि प्रतिरक्षा बहसमा उत्रिएका आरोपीहरुका वकिलहरुले बहस थालेका थिए । उनीहरुले गत बुधबार अर्थात् जेठ २४ बाट बहस शुरु गरे पनि अझै सकेका छैनन् । यो अभियोगमा १८ जना पक्राउ परेका छन् । थप केही फरार छन् । कार्यतालिका प्रभावित भएपछि पनि न्यायाधीश न्यौपानेले बुधबारसम्म प्रतिरक्षा बहस सकेर बिहीबार सरकारी वलिकलाई जवाफी बहसका लागि समय दिने र बिहीबार बेलुकी वा शुक्रबारसम्ममा थुनछेक आदेश गर्ने तयारीमा थिए ।
न्यायाधीश न्यौपानेले तय गरेको अर्को कार्यतालिका पनि प्रभावित भएको छ । प्रतिरक्षाका लागि अझै तीन जना आरोपीहरुको तर्फको बहस नसकिएकोले थुनछेक बहस अझै लम्बिने अवस्थामा पुगेको छ । बुधबार पूर्वगृहमन्त्री खाँणका मंगलबार बहस गर्न नसकेका र नभ्याएका वकिलहरुले बहस गरेका थिए । त्यसपछि बाँकी केही समय हज कमिटीका अध्यक्ष शमशेर मियाँको पक्षमा वकिलहरुले बहस गरेका छन् ।
नक्कली शरणार्थी प्रकरणमा मुछिएका भीआईपीमध्ये एक पूर्वगृहमन्त्री खाँडको पक्षमा मंगलबार र बुधबार बारका पूर्व अध्यक्षहरुले बहस गरेका थिए । वरिष्ठ अधिवक्ताहरु लललितकुमार बस्नेत, रमन श्रेष्ठ, गोपालाकृष्ण घिमिरे, खम्मबहादुर खाती र अधिवक्ता सुरेन्द्र महतोले खाँडको पक्षमा बहस गरे । बधुबार बालकृष्णको बहस सकिएपछि वकिलहरुले हज कमिटी अध्यक्ष शमशेर मियाँको पक्षमा प्रतिरक्षा गरे ।
त्यसपछि नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाको पक्षमा बुधबार नै केही बहस भएको छ । तर उनको पक्षमा आधा बहस भइसकेपछि बुधबारलाई न्यायाधीश न्यौपानेले इजलास उठेको जानकारी दिए । बिहीबार आङटावाको पक्षमा बहस सकिएपछि पनि अन्य तीन अभियुक्तहरु लक्ष्मी महर्जन र हरिभक्त महर्जन तथा भुटानी शरणार्थी नेता टेकनाथ रिजालको पक्षका वकिलहरुको बहस बाँकी नै छ । आङटावाको बाँकी बहस र अन्य तीनको पक्षमा पनि बिहीबार खाजा समयअघि प्रतिरक्षा बहस सक्ने तयारी गरिएको छ ।