रोल्पा। रोल्पाको परिवर्तन गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट पारित गरिएको छ।असार ८ गते आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट अधिबेशन स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा २ बमोजिम पन्ध्रौं गाउँसभामा पेश गरिएको थियो।असार ८ र ९ गते नीति तथा कार्यक्रम माथि छलफल गरि असार १० गते पारित गरिएको हो।
परिवर्तन गाउँपालिका-६ का वडा अध्यक्ष भरत कुमार बुढामगरका आमाको निधनमा शोक प्रस्ताव,आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम,आर्थिक वर्ष २०८०/०८१ को आर्थिक ऐन परिवर्तन गाउँपालिका-३ का वडा अध्यक्ष खिम विक्रम चन्दले प्रस्तुत गर्नुभएको थियो।आर्थिक वर्ष २०८०/०८१ को बिनियोजन ऐन परिवर्तन गाउँपालिका-५ का वडा अध्यक्ष दिल बहादुर वलीले गर्नु भएको थियो।परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले २०७९/०८० मा भएका गाउँकार्य पालिकाले गरेका महत्त्वपूर्ण निर्णयहरु प्रस्तुत गर्नु भएको थियो।
आर्थिक वर्ष २०८०/०८१ को बजेटको उद्देश्य सामाजिक, आर्थिक,भौतिक पूर्वाधार विकास एवं सुशासन प्रवर्द्धन गरी"समृद्धि,सुरक्षित,सामाजिक न्याय र सुशासन युक्त परिवर्तन गाउँपालिका"भन्ने मूलनारालाई साकार पार्न योगदान गर्ने रहेको छ।उपलब्ध साधन,स्रोत,अवसर र क्षमताको उच्चतम परिचालन गर्दै गाउँपालिका बासीको आवश्यकता परिपूर्ति गरि समृद्धि हासिल गर्ने रहेको छ।शिक्षा स्वास्थ्यलाई उच्च प्राथमिकता दिई आम नागरिकको सहज पहुँच वृद्धि गर्दै गुणस्तरीय सामाजिक विकास,सुरक्षा र न्याय प्रत्याभूत गर्ने।नागरिकहरुलाई उद्यमशीलता र व्यावसायिकता तर्फ आकर्षित गरि दिगो आर्थिक वृद्धि हासिल गर्ने।
सार्वजनिक सेवा प्रवाहमा नागरिक पहुँच अभिवृद्धि गर्दै सेवा प्रवाहको सवलीकरण गरि सुशासन कायम गर्ने।कृषि तथा पशु क्षेत्रमा यान्त्रिकिकरण र व्यावसायिकिकरणको माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्दै कृषि तथा पशु क्षेत्रको प्रवर्द्धन गर्ने।रोजगार सृजना र आय आर्जनका माध्यमबाट नागरिकको जीवनस्तरमा सुधार ल्याउने रहेको छ।
परिवर्तन गाउँपालिका-२ का वडा अध्यक्ष तथा परिवर्तन गाउँपालिकाका प्रवक्ता हरिप्रसाद बुढा मगरले आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्य प्रस्तुत गर्नु भएको थियो।बुढा मगरले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि संघीय सरकारबाट प्राप्त हुने समानिकरण अनुदान ८ करोड ५७ लाख,शशर्त अनुदान चालू तर्फ १८ करोड ७० लाख,शशर्त अनुदान पुँजीगत तर्फ १ करोड ३० लाख,विशेष अनुदान १ करोड १५ लाख र राजश्व बाँडफाँड बापतको ८ करोड ९० लाख २३ हजार ५ सय गरी कुल ३९ करोड १७ लाख २३ हजार ५ सय बजेट प्राप्त भएको बताए।
प्रदेश सरकारबाट समानिकरण अनुदान ५८ लाख १७ हजार,राजश्व बाँडफाँड बापत ३१ लाख ३३ हजार ३ सय ८४ रुपैयाँ,समपुरक अनुदान १ करोड,शशर्त अनुदान पुँजीगत ८० लाख र शशर्त अनुदान १ लाख ५० हजार गरी कुल २ करोड ७१ लाख ३ सय ८४ रुपैयाँ अनुमानित बजेट प्राप्त भएको बताए।
त्यस्तै आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाको आन्तरिक आम्दानी ३५ लाख ५० हजार हुने प्रक्षेपण गरिएको छ भने संघीय सरकारबाट प्राप्त बजेट,प्रदेश सरकारबाट प्राप्त बजेट र गाउँपालिकाको आन्तरिक आम्दानी गरी आर्थिक वर्ष २०८०/०८१ मा कुल जम्मा बजेट ४२ करोड २३ लाख ७३ हजार ८ सय ८४ रुपैयाँ रहेको छ।कुल बजेट ४२ करोड २३ लाख ७३ हजार ८ सय ८४ रुपैयाँँ मध्ये चालु तर्फ २८ करोड २८ लाख ५६ हजार ८ सय ८४ रुपैयाँ अर्थात ६६ प्रतिशत र पुँजीगत तर्फ १३ करोड ९५ लाख १७ हजार अर्थात ३४ प्रतिशत बजेट बिनियोजन गरिएको बताए।
साथै वडा कार्यालयका लागि अनिवार्य अनुदान १६ लाख र वडाको भूगोल,जनसंख्या,आन्तरिक राजश्वको अवस्थालाई मुख्य सूचक सहितको शुत्रमा आधारित गरि सबै वडा तर्फबाट स्थानीयको सहभागितामा छनोट भइ आएका योजनालाई प्राथमिकता दिने गरि १ करोड ५० लाख बजेट बिनियोजन गरिएको बताए।
जसमध्ये परिवर्तन गाउँपालिका-१ मा रु.२७ लाख ६५ हजार ५ सय,परिवर्तन गाउँपालिका-२ मा २६ लाख ८९ हजार ७ सय,परिवर्तन गाउँपालिका-३ मा २२ लाख ४८ हजार ७ सय,परिवर्तन गाउँपालिका-४ मा २६ लाख ९३ हजार,परिवर्तन गाउँपालिका-५ मा २४ लाख ५१ हजार ५ सय र परिवर्तन गाउँपालिका-६ मा २१ लाख ५१ हजार ६ सय रुपैयाँ बिनियोजन गरेको बताए।
पूर्वाधार विकास तर्फ बिनियोजन गरिएको ६० लाख रकमबाट सुत्रका आधारमा परिवर्तन गाउँपालिका-१ मा ५ लाख ५० हजार,२ मा १० लाख,३ मा १० लाख,४ मा ५ लाख ५० हजार,५ मा ५ लाख र ६ मा ४ लाख पूर्वाधार निर्माण हुने गरी बजेट बिनियोजन गरिएको बताए।परिवर्तन गाउँपालिकाले जेसिवी सञ्चालनका लागि रु.२० लाख बजेटको बिनियोजन गरेको बताए।