काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा निर्माण भएका आदिवासी जनजाति चलचित्रले विश्वमा नेपालको नाम चिनाउने काम गरेको बताएका छन् ।
आदिवासी जनजातिले आफ्नो भाषा संस्कृतिलाई मध्यनजर गर्दै फिल्म निर्माण गरेपनि नेपालमा यस विषयमा ऐन अभावका कारण ओझेमा पर्ने गरेको केसीले बताएका छन् ।
चलचित्र विकास बोर्डअन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’ले बिहीबार इटहरीमा आयोजना गरेको ‘बृहत् बिचार गोष्ठी कार्यक्रम–२०८१’मा बोल्दै अध्यक्ष केसीले आदिवासी जनजाति चलचित्रकर्मीको गतिबिधि बढ्दै गएकोमा खुसी व्यक्त गरेका छन् ।
अध्यक्ष केसीले नेपाली कला संस्कृति नेपालको गौरव भएको बताउँदै यसलाई विश्वमाझमा पुर्याउने सबैभन्दा सजिलो माध्यम नै चलचित्र भएको उल्लेख गरेका छन् । आदिवासी जनजाति चलचित्रकर्मी महासंघ, कोशी प्रदेशको सह–आयोजना रहेको कार्यक्रममा आदिवासी जनजाति मातृभाषीहरूका विभिन्न झाँकी समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा चलचित्र क्षेत्रमा योगदान पुर्याउने अभिनेत्री मिरुना मगर, गीतकार तथा समाज सेवी मीना सिंगक, निर्माता तथा निर्देशक लाखबहादुर तामाङ, कलाकार तथा समाजसेवी डा.सञ्जय खतिवडा, कलाकार तथा निर्माता नवीन पराजुली, लिम्बु चलचित्र ‘हाङनाङ्ग’का निर्देशक तथा अनाम रंगमञ्चका अध्यक्ष विजय सन्योक सुब्बा, भुजेल चलचित्रकर्मी संघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजकुमार भुजेल, संस्कार संस्कृति अध्ययन मन्चका कार्यवाहक अध्यक्ष डिकबहादुर भुजेल, भुजेल चलचित्रका सह–नायक सुरज भुजेल लगायतलाई सम्मान समेत गरिएको छ ।
चलचित्र विकास बोर्डअन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धधन समिति’ले पछिल्लो समय देशका विभिन्न ठाउँमा पुगेर कार्यक्रममार्फत आदिवासी जनजाति तथा मातृभाषीका चलचित्र निर्माण र प्रवर्द्धनमा प्रोत्साहन मिल्ने कार्यक्रम र सहजीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।