काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आउँने तयारीमा रहेका दुई फिल्म ‘ऊनको स्वीटर’ र ‘जार’को अग्रिम टिकट बुकिङ खुला भएको छ ।
दुई फिल्ममध्ये शो संख्यामा ‘ऊनको स्वीटर’ अगाडि देखिएको छ । यसलाई देशकै ठुलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले काठमाडौँ उपत्यकामा २१ र मोफसलमा २६ गरी कुल ४७ शो दिएको छ ।
फिल्मलाई पहिलो दिनका लागि देशभरका हलमा एक सय हाराहारी शो प्राप्त छ । केही हलमा अझै बुकिङ खुल्न बाँकी रहेकाले शोमा थपघट हुनसक्छ ।
त्यस्तै ‘जार’को शो भने ‘ऊनको स्वीटर’ भन्दा केही कम छ । क्यूएफएक्स चेनले देशभर गरी फिल्मलाई २३ शो दिएको छ भने पहिलो दिनका लागि देशव्यापी ५० हाराहारी शो रहेका छन् । फिल्मको बिहीबार साँझसम्म केही शो बढ्न सक्ने बताइन्छ ।
दुबै फिल्मले प्रिमिएर गरिसकेका छन् । प्रिमिएरमा सकारात्मक प्रतिक्रिया पाउन सफल यी दुई फिल्मले व्यवसाय गर्ने समेत अपेक्षा गरिएको छ ।
‘ऊनको स्वीटर’ नवीन चौहानको निर्देशनमा बनेको फिल्म हो । फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस लगायतको अभिनय छ । फिल्मले अन्तरजातीय प्रेमकथा देखाउन खोजेको छ ।
‘जार’ साहित्यकार इन्द्रबहादुर राईको बहुचर्चित कथामा आधारित फिल्म हो । फुर्वा छिरिङ लामा निर्देशित फिल्ममा सौगात मल्ल, अनुप विक्रम शाही र गीताञ्जली थापाको अभिनय छ । फिल्मले पुरानो जार प्रथाको कथा भन्छ ।