काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीस्थित डिभिजन वन कार्यालय, धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई ७ लाख ३१ हजार रुपैयाँ घुस लिएको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।
आयोगका अनुसार यादवले कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनबाट घाटगड्डी गरिएको काठसम्बन्धी विवरणपत्र (बिमर्का) र छोडपूर्जी दिने क्रममा सेवाग्राहीसँग घुस माग गरेका थिए। सोही उजुरीका आधारमा अख्तियारको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
अख्तियारका प्रवक्ता एवम् सहसचिव राजेन्द्रकुमार पौडेलका अनुसार यादवलाई सोमबार डिभिजन वन कार्यालय, धनगढीबाट नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेपछि घटनासँग संलग्न अन्य व्यक्तिहरूको पहिचान र अनुसन्धान प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ ।