दाङ l लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार गठनको एक वर्ष पूरा भएको अवसरमा ७६ बुँदे उपलब्धिहरु सार्वजनिक गर्नु भएको छ। देउखुरीमा आयोजित पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री आचार्यले सुशासन, पारदर्शिता र कार्यक्षमताका क्षेत्रमा सरकार दृढताका साथ अघि बढिरहेको स्पष्ट पार्नुभयो ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकार संघीय संरचनाको अपरिहार्य तहको रूपमा विकास भइरहेको उल्लेख गर्दै, पाँच वर्षे रणनीतिक योजना अनुसार राजस्व वृद्धि, पुँजीगत खर्चमा सुधार र प्रशासनिक क्षमता अभिवृद्धिमा उल्लेखनीय सफलता प्राप्त भएको बताउनुभयो ।
कार्यसम्पादन मूल्याङ्कन तथा नीतिगत अनुगमन गर्न ‘मुख्यमन्त्री ड्यासबोर्ड’ को स्थापना गरिएको छ। साथै, कृषि क्षेत्रलाई प्रविधि-सक्षम बनाउन ‘किसान एप’ सार्वजनिक गरिएको छ। अभौतिक सांस्कृतिक सम्पदाको दस्तावेजीकरण गर्न सम्बन्धित पुस्तकको विमोचनसमेत गरिएको छ ।
प्रदेश सभाका सभामुख तुलाराम घर्तिमगरले लुम्बिनी प्रदेशले कानुन निर्माणमा ठोस उपलब्धि हासिल गरेको उल्लेख गर्दै बाँकी रहेका सामाजिक न्यायसम्बन्धी ऐनहरू यही अधिवेशनमा पारित गरिने जानकारी दिनुभयो ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले नागरिकका आवश्यकता बुझ्ने र त्यसअनुसार नीतिगत कार्यक्रम कार्यान्वयन गर्दै संघीयताको अभ्यासमा लुम्बिनीलाई ‘मोडेल प्रदेश’ बनाउने दिशामा अघि बढिरहेको बताउनुभयो ।
उक्त अवसरमा प्रमुख सचिव बवुराम अधिकारीको अध्यक्षता तथा सचिव इश्वरराज पौडेल, मन्त्री सरोज थापा (रोज राणा) र सचिव कविन्द्र नेपालको सहभागितामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारले नागरिकसम्म देखिने, भेटिने र सुनिने शासन प्रणाली स्थापना गर्ने दृष्टिकोण दोहोर्याएको छ ।