Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी


२४, कात्तिक २०८२
  • 105
    SHARES
  • नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी

    काठमाडौँ । सरकारले काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवा जडान गरेसँगै यात्रुमा खुसी छाएको छ ।

    गुल्मी जानका लागि बसपार्क आउनुभएका चन्द्र केसी मानिसको धेरै आवतजावत हुने स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरेर जनताको मन जितेको बताउँछन् । ‘काठमाडौँ मात्र नभई निःशुल्क इन्टरनेट सेवालाई काठमाडौँ बाहिर पनि विस्तार गर्नुपर्छ’, उनी भन्छन् ।

    दाङ जानका लागि नयाँ बसपार्क आएका भूपप्रसाद भुसाल पहिलोपटक बसपार्कमा निःशुल्क इन्टरनेट सेवा पाउँदा ज्यादै खुसी लागेको बताउँछन् । निःशुल्क इन्टरनेटको सेवालाई गाउँ गाउँसम्म लैजानुपर्ने उनको भनाइ छ ।

    नयाँ बसपार्कको काउन्टरमा कार्यरत बच्चुराम भट्ट सरकारले निःशुल्क इन्टरनेट सेवा दिएर धेरै राम्रो काम गरेको बताउँछन् । ‘प्रविधिको जमानामा सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट दिँदा यात्रुलाई धेरै सहज भएको छ’, भट्ट भन्छन् ।

    धादिङका दीपक ढकाल नयाँ बसपार्कमा मात्र नभई काठमाडौँभित्रका सबै ठाउँमा निःशुल्क इन्टरनेट सेवा विस्तार हुनुपर्ने बताउँछन् । सरकारले नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवा विस्तार गरेर सराहनीय काम गरेको उनको भनाइ छ ।

    बस व्यवसायी राकेश भट्ट निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गर्नु मात्र  ठुलो कुरा नभई यसको निरन्तरता ठुलो कुरा भएको बताउँछन् । ‘सबैले आफ्नो चर्चाका लागि सुरुमा काम गर्छन्, यसले निरन्तरता पाउँछ की पाउँदैन भन्ने मुख्य कुरा हो’, उनी भन्छन् ।

    माथि उल्लिखित भनाइ केवल प्रतिनिधिमूलक भनाइ हुन् । गत असोज ६ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्नुभएका जगदीश खरेलले आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गर्दै दुई महिनाभित्र काठमाडौँ उपत्यकाका महत्त्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाईको पहुँच पुर्‍याउने निर्णयअनुसार यही कात्तिक १९ गते नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका थिए ।

    सरकारको सहकार्यमा भायोनेटले जडान गरेको उक्त इन्टरनेट सेवा एक पटकमा एउटा मोबाइलमा ९० मिनेटसम्म निःशुल्क चलाउन मिल्नेछ । देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतम मुलुकको राष्ट्रिय बसपार्कमा निःशुल्क इन्टरनेट सेवा जडान हुनु खुसी र गौरवको विषय भएको बताउँछन् । 

    ‘नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवा जडान भएसँगै यात्रुले प्रविधिको प्रयोग गरेर बसको टिकट प्राप्त गर्न सक्नेछन्’, उनी भन्छन् । नयाँ बसपार्कबाट हाल दैनिक ७०० देखि ८०० सार्वजनिक सवारीसाधन ओहोरदोहोर गर्दै आएका छन् । जसमा ४०० भन्दा बढी ठुला बस, १५० हाराहारीमा माइक्रो बस र २०० भन्दा बढी काठमाडौँ उपत्यकाभित्र चल्ने स्थानीय बस रहेका छन् ।

    नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्ल नयाँ बसपार्कबाट दैनिक १२ देखि १५ हजार यात्रुको आवतजावत हुने गरेको बताउँछन् । ‘सरकारले जडान गरेको निःशुल्क इन्टरनेट सेवा सबै यात्रुको पहुँच हुनुपर्छ, इन्टरनेट कम्पनी र यात्रुबिचको सहजीकरणका लागि लोत्सेले काम गर्नेछ’, उनी भन्छन् ।

    सरकारले गत हप्ता गोङ्गबुस्थित नयाँ बसपार्कसहित उपत्यकाका १९ स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरेको छ । जसमा वीर अस्पताल, परोपकार प्रसूति गृह, त्रिभुवन शिक्षण अस्पताल, टेकु अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल अस्पताल, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कीर्तिपुर बर्न अस्पताल, पाटन अस्पताल र भक्तपुर अस्पताल सहिद धर्मभक्त अस्पताल रहेका छन् ।

    यस्तै पशुपति आर्यघाट, यातायात व्यवस्था कार्यालय एकान्त कुना, राधे राधे र ठुलो भर्याङ, भक्तपुर क्यान्सर अस्पताल तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवर सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गर्दा आम नागरिकलाई सहज पुग्ने बताउँछन् ।

    अध्यक्ष कुँवर सार्वजनिक स्थलमा इन्टरनेटको सुविधा अनिवार्य भएकाले यसलाई आगामी दिनमा अझै व्यवस्थित गर्दै लैजानुपर्ने बताउँछन् ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल सेवाग्राहीको सन्तुष्टिलाई हेरेर आगामी दिनमा इन्टरनेटको क्षमता विस्तार गरिँदै लैजाने बताउँछिन् । ‘मन्त्रीज्यूले गरेको निर्णयलाई हामी क्रमशः कार्यान्वयन गर्दै लैजान्छौँ’, उनी भन्छिन् ।

    सञ्चार मन्त्री खरेल सरकारले राजधानी काठमाडौँसहित दुर्गम क्षेत्रमा पनि इन्टरनेट सेवा विस्तारमा काम गरिरहेको बताउँछन् । ‘दार्चुलाको मार्मा, बझाङ, जाजरकोटको वारेकोट र मनाङको तिलिचो बेसक्याम्पमा इन्टरनेट सेवा पुर्याइसकेका छौँ, सोलुखुम्बु, रामेछाप, रौतहट, म्याग्दी, बैतडीलगायतका कमजोर नेटवर्क भएका ठाउँमा इन्टरनेट सेवा पुर्याउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ’, मन्त्री खरेल भन्छन् ।

    सरकारले काठमाडौँ उपत्यकाको निःशुल्क इन्टरनेट सेवाको सफल परीक्षणपछि सातै प्रदेशका राजधानीमा निःशुल्क इन्टरनेट सेवा पुर्याउने लक्ष्य लिएको मन्त्री खरेल बताउँछन् । मन्त्री खरेल सरकारले गाउँ, सहर, सुगम, दुर्गम सबै क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा पुर्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताउँछन् ।  

  • सन् २०३० सम्ममा देशभर १० हजार चार्जिङ स्टेशन निर्माण गर्न अध्ययनको सुझाव

    काठमाण्डौ पूर्वाधार विकास मन्त्रालयको एक अध्ययनले नेपालमा विद्युतीय गाडीको प्रवर्द्धनकालागि सन् २०३० सम्म देशभर

  • काठमाडौंको स्यूचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गरिने

    काठमाडौं । सरकारले काठमाडौंको स्यूचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्षको

  • सरकारी सूचनामा निजी मिडिया बहिष्कृत: अब गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनमै मात्र प्रकाशन/प्रसारण

    काठमाडौं l सरकारले अबदेखि सार्वजनिक निकायका सबै सूचना तथा विज्ञापन सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend