बुटवल । “प्रत्यक्ष ज्यौतिषं शास्त्रं चन्द्राकौं यत्र साक्षिणौ ।” भन्ने मूल भावलाई आत्मसात गर्दै ज्योतिष शास्त्रको गरिमा, वैज्ञानिकता र सामाजिक महत्वलाई थप सशक्त बनाउने उद्देश्यका साथ दक्षिण एसियाली ज्योतिष महासंघ (South Asian Astro Federation) लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। रुपन्देहीको मणिग्रामस्थित विश्रामवाटिकामा जेठ २ गते शनिबार आयोजित अधिवेशनको बन्द सत्रले आगामी कार्यकालका लागि चुरामणि पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय समितिका सभापति तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी प्रमुख आचार्य लक्ष्मण पन्थीले सत्रलाई सम्बोधन गर्दै ज्योतिष शास्त्रको शास्त्रीय गरिमा, वैज्ञानिक पक्ष तथा यसको संरक्षण र प्रवर्द्धनमा सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो।

उहाँले भन्नुभयो- “ज्योतिष शास्त्र केवल भविष्यवाणी गर्ने माध्यम मात्र होइन, यो वेदको नेत्र तथा गहन वैज्ञानिक ज्ञान हो। आधुनिक समयमा यसको शास्त्रीय मान्यता र गरिमालाई संरक्षण गर्दै वैज्ञानिक ढङ्गले समाजमा स्थापित गर्नु आजको आवश्यकता हो। दक्षिण एसियाली ज्योतिष महासंघले यस क्षेत्रका विद्वानहरूलाई एउटै सूत्रमा बाँधेर अघि बढ्ने महत्वपूर्ण कार्य गरिरहेको छ।
नयाँ पुस्तालाई यस विद्याप्रति आकर्षित गर्न र समाजमा रहेका भ्रम तथा गलत धारणाहरू चिर्न सामूहिक एकता अपरिहार्य छ। लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनले ज्योतिष क्षेत्रको विकासमा नयाँ ऊर्जा थप्ने विश्वास लिएको छु।” उहाँले नवगठित कार्यसमितिलाई सफल कार्यकालका लागि हार्दिक शुभकामना समेत व्यक्त गर्नुभयो।
लुम्बिनी प्रदेश समितिका निवर्तमान सभापति जोगेन्द्र पाण्डेयको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा ज्योतिष क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष प्रेमप्रसाद पराजुली, राष्ट्रिय समितिका सभापति खिलनाथ काफ्ले, अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष लक्ष्मण गौतम, तथा राष्ट्रिय समितिका महासचिव एवं अन्तर्राष्ट्रिय प्रवक्ता रविन पंगेनी रहनुभएको थियो। कार्यक्रमको सञ्चालन महासंघका लुम्बिनी प्रदेश प्रवक्ता बद्री प्रसाद भट्टराईले गर्नुभएको थियो।
अधिवेशनले आगामी कार्यकालका लागि पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन गरेको छ, जसको विवरण निम्न बमोजिम छ:

पदाधिकारीहरू
-
सभापति : चुरामणि पाण्डे
-
उप-सभापतिहरू : अनुप शर्मा, गायत्री सुवेदी, विष्णु गाहा मगर, हरिश्चन्द्र पौडेल
-
महासचिव : बद्री प्रसाद भट्टराई
-
उप-महासचिव : मनोज भुसाल (किरण)
-
कोषाध्यक्ष : जनक पोखरेल
-
सचिव : सन्देश सापकोटा
-
सह-सचिव : सुजन शर्मा
-
प्रवक्ता : विवेक शर्मा
सदस्यहरू
-
दुर्गा प्रसाद पोखरेल, विष्णु भण्डारी, डोलराज पाण्डे, सुजन पराजुली, बालकृष्ण पंगेनी, किशन भुसाल, नरेश प्रसाद घिमिरे, गणेश भुसाल तथा शिराज गहै।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई केन्द्र तथा राष्ट्रिय समितिका पदाधिकारीहरूले खादा र अबिर लगाएर बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
पदभार ग्रहण गर्दै नवनिर्वाचित सभापति चुरामणि पाण्डेले संस्थाको गरिमालाई अझ उच्च बनाउने संकल्प गर्नुभयो। उहाँले लुम्बिनी प्रदेशमा ज्योतिष शास्त्रको प्राज्ञिक, अनुसन्धानात्मक र संस्थागत विकासका लागि आफू र आफ्नो टोली प्रतिबद्धतापूर्वक लागिपर्ने बताउनुभयो।




