काठमाडौं l आधुनिकता र तडकभडकले तीज गीतको मौलिक स्वरूपमाथि प्रश्न उठिरहेका बेला सर्जक नेत्रबन्धु पोख्रेलले नेपाली तीजको मौलिक संस्कृतिलाई केन्द्रमा राखेर तयार पारिएको नयाँ तीज गीत ‘नाच्ने आजै हो’ सार्वजनिक गरेका छन्।
हरितालिका तीजको अवसर पारेर विशेष समारोहबीच सार्वजनिक गरिएको गीतले विगतका पुस्ताले मनाउँदै आएको तीजको मौलिक परम्परा, संस्कृति, भेषभूषा, नाचगान र सामाजिक सद्भावलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ।
गीत सार्वजनिक कार्यक्रममा डा. ध्रुबराज भट्टराईको सभापतित्व तथा संस्कृतिविद् प्रोफेसर डा. वीणा पौडेलको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा वरिष्ठ पत्रकार तथा समालोचक पुरुषोत्तम दाहाल, साहित्यकार राधेश्याम लेकाली, नेपाल प्रज्ञा–प्रतिष्ठानकी सह-सचिव सन्ध्या पहारी, चलचित्र निर्देशक राजेन्द्र केसी, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमलगायत साहित्य, कला, सञ्चार र सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन डा. विदुर वस्तीले गरेका थिए भने स्वागत मन्तव्य गीतकार नेत्रबन्धु पोख्रेलले राखेका थिए। चर्चित गायिका मनमाया वाइबा को स्वर रहेको यस गीतका शब्द नेत्रबन्धु पोख्रेलले लेखेका हुन् भने संगीत शेष नारायण पोख्रेलले सिर्जना गरेका छन्। गीतको एरेञ्ज तथा मिक्सिङ हेमराज डाँगीले गरेका छन् भने सामूहिक गायनमा कमला पोख्रेल र संगी अधिकारी पोख्रेलको साथ रहेको छ।
गीतको भिडियो पनि मौलिक शैलीमै निर्माण गरिएको छ। सुरज खनालको निर्देशन, नवीन पौडेलको कोरियोग्राफी, सागर खड्काको छायांकन र विनोद बमको सम्पादन रहेको भिडियोमा आस्था न्यौपाने, गोमा न्यौपाने, नेत्रबन्धु पोख्रेल, कमला पोख्रेल तथा डा. विदुर वस्तीको अभिनय देख्न सकिन्छ।
बाल कलाकारका रूपमा सृष्टि पोख्रेल र आराभ पौडेलले समेत प्रभावशाली प्रस्तुति दिएका छन्। निर्माण पक्षका अनुसार पछिल्ला वर्षहरूमा तीज गीतहरू आधुनिक शैलीतर्फ बढी केन्द्रित भइरहेका बेला ‘नाच्ने आजै हो’ ले नेपाली समाजमा पुस्तौंदेखि चलिआएको तीजको मौलिक पहिचानलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य बोकेको छ।
गीतमा महिलाहरूको आत्मीय भेटघाट, सामूहिक नाचगान, सांस्कृतिक एकता र पारिवारिक सम्बन्धलाई सरल तथा सन्देशमूलक ढंगले प्रस्तुत गरिएको छ। मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित तयार पारिएको ‘नाच्ने आजै हो’ गीत ‘नेत्रबन्धु मिडिया’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
तीजको वास्तविक भाव, नेपालीपन र सांस्कृतिक गरिमालाई समेटेको यस गीतले दर्शक-श्रोतामाझ सकारात्मक प्रतिक्रिया प्राप्त गर्ने अपेक्षा गरिएको छ।